बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले आफूले पाउने मासिक सुविधाको रकम नगरपालिकाभित्रका दलित, विपन्न र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पढाइमा सहयोग गर्ने घोषणा गरेकी छन्।
बुधवार पत्रकार सम्मेलन गर्दै चन्दले कुनै लाभका लागि राजनीतिमा नआएकाले नगरभित्रका दलित, विपन्न परिवारबाट प्राविधिक विषय पढ्ने २२ जना विद्यार्थीलाई वार्षिक ५० हजार सहयोग गर्ने घोषणा गरेकी हुन्। स्थानीय तहको उपप्रमुखका रूपमा आफूले पाएको मासिक ४३ हजार रुपैयाँ र बैठक भत्ताबापत प्राप्त पहिलो आर्थिक वर्षको सम्पूर्ण रकम जम्मा गरेको आगामी वर्षमा पनि जम्मा गरेर उनीहरूलाई सहयोग गर्ने बताइन्।
मासिक ४३ हजार रुपैयाँ र केही बैठक भत्ताको रकम दलित, विपन्न विद्यार्थीको पढाइमा खर्च गर्ने बताउँदै उनले यो बाहेक नगरपालिकालाई आर्थिक भार पर्ने गरी अन्य कुनै सुविधा नलिएको जानकारी दिइन्।