धनगढी । बैतडीमा हजुरबुवाको कुटाइबाट बालक नातिको ज्यान भएको छ। पुर्चौंडी नगरपालिका–६ मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाइबाट २ वर्षीय रेशमको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार हजुरबुवाको कुटपिटबाट अर्का ८ वर्षीय नाति रिजन गम्भीर घाइते भएका छन्।
बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस काट्न गएका बेला हजुरबुवा गणेशले उनीहरुिलाई कुटपिट गरेको थिए। कुटपिटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बताए।
गम्भीर घाइते अर्का बालक रिजनको नवजीवन अस्पताल धनगढीमा आईसीयूमा राखेर उपचार भइरहेको छ। प्रहरीले हजुरबुवा गणेशलाई बिहीबार नै नियन्त्रणमा लिइसकेको छ। कुटपिट गर्नुको कारण खुलेको छैन। कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।