काठमाण्डौ। कैलालीको टिकापुर घटनामा संलग्न भएको ठहर गर्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट जन्मकैदको सजाय पाएका रेशमलाल चौधरीको जन्मकैद सजाय सर्वोच्च अदालतले पनि सदर गरेको छ ।
२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरुको आक्रमणबाट प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहित सात जना प्रहरी र सोही घट्नाका क्रममा एक नाबालकको गोली लागी मृत्यु भएको थियो । थरुहट आन्दोलनको संयोजक रहेका रेशमलाई उक्त घट्नामा संलग्न भएको भन्दै यसअघि जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो ।
उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । उक्त मुद्दा सोमबार नियमित सुनुवाइका लागि पेशी तोकिएको थियो । न्यायाधीशद्वयको इजलासले मुद्दाको सुनुवाइ नसकिएपछि मंगलबार समेत त्यसलाई निरन्तरता दिएको हो । मंगलबार इजलासले चौधरीविरुद्ध उच्च अदालतको फैसला मिलेकै देखिएकाले जन्मकैदको फैसला सदर हुने ठहर गरेको हो । सर्वोच्चको यो आदेशसँगै चौधरीले जन्मकैद पाएका छन् । चौधरीले यो मुद्दामा २० वर्ष कैद सजाय पूरा गर्नुपर्नेछ ।
सोही मुद्दाका आरोपी सिताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाएका छन् । सिताराम र गंगाराम जिल्ला र उच्च अदालतको आदेशअनुसार जन्मकैद भुक्तानका लागि जेलमै रहेका थिए । उनीहरुलाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश छ । जिल्ला अदालतले ठहर गरेबमोजिम तीन वर्षको कैद भुक्तान गरिसकेका लक्ष्मण थारुलाई उच्च अदालतले जन्मकैद तोकेकोमा सर्वोच्चले जिल्लाकै फैसला सदर गरेको हो । थारुले थप जेल बस्नु पर्दैन ।
टीकापुर घट्नापछि फरार रहेकै बेला २०७४ सालमा भएको प्रतिनिधि सभाको निर्बाचनमा रेशम कैलाली क्षेत्र नम्बर १ बाट अत्याधिक मतले निर्बाचित भएका थिए । निर्बाचित भएपछि आत्मसमर्पण गरेका रेशम त्यसपछि जेलमा सजाय काटिरहेका छन् । जेलभित्रैबाट नागरिक उन्मुक्ति पार्टी गठन गरेका रेशमको पार्टीले कैलालीका चारवटा स्थानीय तहमा जित हासिल गरेको थियो भने २०७९ को आम निर्बाचनमा कैलालीका तीन र बर्दियाको एक गरी चारवटा सिटबाट प्रतिनिधि सभामा जित हासिल गरेको थियो ।
हाल रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबाट उनकी पत्नी रञ्जिता चौधरी संघीय सरकारमा मन्त्री छन् ।