धनगढी। नयाँ वर्षको अवसर पारेर सधैँ झैँ यो बर्षपनि धनगढी जेसिजले हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ । विकास र समृद्धिकालागि ‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका साथ धनगढी जेसिजले हाफ म्याराथन प्रतियोगिताको आयोजना गरेर विगत नाैं बर्षदेखि धनगढीलाई दाैडाउने गरेकाे छ ।
धनगढी जेसिजले आज पत्रकार सम्मेलनको आयोजना गर्दै वैशाख १ गते बिहान ७ बजे धनगढी रङ्गशालाबाट सुरु हुने म्याराथन प्रतियोगितामा विभिन्न ४ विद्या समावेश गरिएको जानकारी दिएकाे छ । म्याराथन प्रतियोगितामा खुला (२१.१ किलोमिटर), कर्पोरेट र सञ्चार (५ किलोमिटर), ट्राई साइकल रेस (५ किलोमिटर) र महिला (५ किलोमिटर) गरि चार विद्या आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक मनिष कुँवरले बताए ।
म्याराथन प्रतियोगितामा खुला तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५५ हजार ५५५, ३३ हजार ३३३ र २२ हजार २२२ रुपैयाँ नगद प्राप्त गर्नेछन् । त्यस्तै कर्पोरेट र सञ्चार तर्फ ५ हजार ५५५, ३ हजार ३३३ र २ हजार २२२ रुपैयाँ पुरस्कार र ट्राई साइकल तर्फ सहभागी सबैलाई पुरस्कार दिइने बताउँदै संयोजक ओझाले महिलातर्फ विजयी हुनेले क्रमशः ५ हजार ५५५, ३हजार ३३३ र २ हजार २२२ रुपैयाँ पुरस्कार दिइने बताए ।