धनगढी । सुदूरपश्चिम प्रदेशका नव नियुक्त मुख्यमन्त्री राजेन्द्र सिंह रावलको राजीनामा माग गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्री रावलको राजीनामा माग गरेका हुन्।
प्रदेश सभामा सभामुख चयनको प्रक्रिया दोस्रोपटक पनि सफल हुन सकेन। उक्त बैठकमा विशेष समयमा बोल्ने क्रममा सोडारीले अल्पमतमा परेकाले मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने नभए बहुमत देखाउनुपर्ने बताएका हुन्।सोडारीले मुख्यमन्त्रीको राजीनामा माग गर्दै भने, ‘तपाइको दल, तपाईँको गठबन्धनका कारणले सभामुखको निर्वाचन हुँदैन, त्यो विषय अरूतिर तेर्स्याउन पाइन्छ ?’ प्रश्न गर्दै उनले भने ।
‘भर्खरै धारणा राख्ने एक सदस्यले सरकारलाई सहमति नरहेको बताएर जानु भयो। अब अल्पमतको सरकार कहीँ चलाउन पाइन्छ ? संसार भरी कहीँ अल्पमतको सरकार चलाउन पाइन्छ ? माननीय मुख्यमन्त्री ज्यू तपाइलाई नैतिक प्रश्न उठ्छ की उठ्दैन ? तपाईँले राजीनामा दिनु हुन्छ की हुन्न ? की तपाई बहुमत देखाउनुस्, हैन भने तपाईँ तुरुन्त राजीनामा दिनुस्। यही भन्छ संसार भरिको संसदीय व्यवस्थाले।’
सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयन प्रक्रिया अलमलमा पर्दा दलहरूबिच किचलो बढेको छ। नागरिक उन्मुक्ति पार्टीले शनिवारको बैठकमा रेसम चौधरीको रिहाइ लगायत आफ्नो दलसँग भएका सम्झौता कार्यान्वयन नभएसम्म गठबन्धनको पक्षमा नउभिने बताएको छ। नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले विशेष समयमा बोल्दै उक्त माग राखेका हुन्।
आफ्नो दलसँग सत्ता गठबन्धनको मुख्यमन्त्रीका लागि मात्रै सहमति भएको तर एमाले र माओवादीले दुई विना विभागीय मन्त्रीलाई समेत शपथ गरिएको प्रति उनले असन्तुष्टि पोखे। सोही असन्तुष्टि पछि आफू बिहीबारको बैठक बहिस्कार गरी अनुपस्थित रहेको समेत उनले बताए। उनीसहित एमालेका चक्र मल्लको अनुपस्थिति तथा एक मत बदर भएपछि सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रका भीम भण्डारी सभामुख चयन हुनबाट रोकिएका थिए।