सुदूरपश्चिम प्रदेशसभामा छ दलको प्रतिनिधित्व

धनगढी । सुदूरपश्चिमको प्रदेशसभामा दोस्रो कार्यकालका लागि विभिन्न छ राजनीतिक दलको प्रतिनिधित्व हुँदैछ। हालै सम्पन्न चुनावको नतिजाअनुसार दोस्रो कार्यकालमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभामा आफ्नो प्रतिनिधित्व यथावत राख्दा जनता समाजवादी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी भने बाहिरिएका छन्। निर्वाचन आयोगको तथ्याङ्कअनुसार नागरिक उन्मुक्ति पार्टी र राप्रपाले पनि प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन्।

पहिलो कार्यकालमा यी दुई दलको प्रदेशसभामा प्रतिनिधित्व थिएन। त्यसबखत प्रत्यक्ष निर्वाचित चार सदस्यसहित १२ सदस्यको प्रतिनिधित्व रहेको नेपाली कांग्रेसबाट दोस्रो चुनावपछि प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ सात गरी १९ सदस्य प्रदेशसभा निर्वाचित भएका छन्। नेकपा (माओवादी केन्द्र)बाट प्रत्यक्ष निर्वाचित आठ र समानुपातिक तीन गरी ११, नेकपा(एमाले)बाट प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक सात गरी दश सदस्य निर्वाचित भएका छन्। नेकपा (एकीकृत समाजवादी)का प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक एक गरी चार सदस्य निर्वाचित भएका छन्।

यसअघि पहिलो कार्यकालमा शून्य उपस्थिति रहेको नागरिक उन्मुक्ति पार्टीबाट अहिले प्रत्यक्ष निर्वाचित पाँच र समानुपातिक दुई गरी सात सदस्य निर्वाचित भएका छन्। यस्तै राप्रपाबाट पनि पहिलोपटक प्रदेशसभामा एक सदस्यको उपस्थिति हुने भएको छ। प्रत्यक्षतर्फ निर्वाचनमा कुनै पनि सिट प्राप्त गर्न नसकेको उक्त दलले समानुपातिकमा पाएको मतका आधारमा एक सदस्य निर्वाचित भएको हो। एक स्वतन्त्र सदस्यको समेत प्रदेशसभामा उपस्थिति हुँदैछ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.