हँसिया प्रहार गरी भिनाजुद्वारा सालाको हत्या

धनगढी । कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा भिनाजु नाता पर्ने ५० वर्षीय गौरीलाल ढुंगानाले हँसिया प्रहार गर्दा एक जना सालाको मृत्यु भएको छ। अर्का घाइते छन्।

हँसिया प्रहारबाट घाइते पदम भण्डारीको उपचारका लागि अस्पताल लग्दै गर्दा मृत्यु भएको हो। जिप्रका कैलालीका डिएसपी वेदप्रकाश जोशीका अनुसार हँसियाले हान्दा घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पुगाइएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेका थिए।

हँसिया प्रहारबाट गम्भीर घाइते भएर टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ। उनको अवस्था पनि गम्भीर रहेको छ। मदिरा सेवनपछि भण्डारीको सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुंगानासँग विवाद भएको थियो। ढुंगाना नातामा भण्डारीका भिना पर्छन।

‘तपाईंले दिदीलाई दुःख दिनुहुन्छ, भन्दै विवाद भएको देखिएको छ,’ डिएसपी जोशीले भने, ‘ती दुईकाबीच यसअघि पनि मुद्दा, मामिला परेको देखिन्छ, झगडाले उग्र रुप लिएपछि भिनाजुले हसिया प्रहार गरेको खुलेको छ।’ साला पर्ने दुवै जनालाई हँसिया प्रहार गरी फरार भएका ढुंगानाको खोजी भइरहेको डिएसपी जोशीले बताए। उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.