चाडपर्व त पहाडमै रमाइलो

दिवाकर पोख्रेल

देउखुरी । दाङको लमही नगरपालिका–५, लमही निवासी केशवराज खनाल दशैँ, तिहारलगायत चाडपर्व मनाउन आफ्नो जन्मस्थान अर्घाखाँची जानुहुन्छ । उहाँ दाङ बसाइँ सरी आएको २० वर्ष भइसक्यो तर उहाँलाई जन्मठाउँ नपुगी पर्व आएजस्तै लाग्दैन । उहाँ भन्नुहुन्छ, “पहाडमा अहिले पनि पुराना संस्कृति जस्ताको तस्तै जीवित छन्, तराईमा आयातित संस्कृतिको प्रभाव रोक्न सकिएको छैन, सुविधा खोज्न तराई र चाडपर्व मनाउन पहाडमा जस्तै भएको छ ।”  

यस्तै प्युठानको मल्लरानी गाउँपालिका–३, चौरपानीबाट दाङको लमहीमा बसाइँसरी आउनु भएका तीर्थ पोख्रेलको अनुभूति पनि खनालको भन्दा फरक छैन । यस वर्ष गोजाग्रत पूर्णिमा मेला हेर्नका लागि जन्मस्थान प्युठान जाने धोको उहाँको पूरा हुन सकेन । अविरल वर्षाले सडक अवरुद्ध भएपछि उहाँको दशैँ लमहीमा भयो, तिहारमा पहाडै जाने योजना उहाँको छ । सुविधाको हिसाबले तराई उपयुक्त भए पनि चाडपर्वको समयमा आफूलाई पहाडै रमाइलो लाग्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तराईमा धेरै ठाउँबाट बसाइँ सरी आएका छौँ, पहाडमा पुस्तौँदेखि आत्मीयता गाँसिएको हुन्छ, यही आत्मीयता, पहाडी सौन्दर्य र संस्कृतिले चाडपर्वमा लोभ्याउँछ ।”

खनाल र पोख्रेल मात्रै होइन चाडपर्वको समयमा पहाडी क्षेत्रमा घुमफिर र रमाइलोका लागि मानिसहरू चाडपर्व नै कुर्ने गरेको पाइन्छ । चाडपर्वमा बिदा हुने भएकाले कर्मचारी, विद्यार्थीलगायतलाई काममा हुनेहरूलाई पनि सहज हुने गरेको छ । पहाडी क्षेत्रमा आधारभूत सेवा सुविधा नभएपछि तराई झरेकाहरूले यातायातको पहुँच बढेपछि जन्मस्थान पहाडी क्षेत्र रमाइलोका लागि रोज्ने गरेका हुन् । प्युठान जिल्लाबाट ४० वर्ष अघि बसाइँ सरी दाङ झर्नुभएका किसन भुसालले पहाडी संस्कृतिबाट आफू प्रभावित भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सकेसम्म यही तराईमै पहाडी संस्कृतिअनुसारको दशैँमा सरायँ नाच, तिहारमा देउसीभैलो खेलौँ भन्ने भए पनि बाजागाजालगायतको समस्याले पहाडकै झल्को मेटिँदैन ।

तराईका स्थानीय पालिकाले पनि चाडपर्वलाई परम्परागत संस्कृति अनुकूलको बनाउने प्रयास भने गरेका छन् । विशेष गरी दाङ देउखुरीको हकमा थारू समुदायको संस्कृति संरक्षणमा जुटेका स्थानीय सरकारले सँगै अन्य समुदायसँग जोडिएका संस्कृति संरक्षणमा चासो दिन थालेका हुन् । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले चाडपर्वमा आफ्नै क्षेत्रमा संस्कृति संरक्षण हुने गरी रमाइलो गर्न सुझाव दिनहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी पञ्चेबाजा, मारुनी नाचलगायतको संंस्कृति जगाउने खालको काम गरेका छौँ, हाम्रो संस्कृतिले पहाड फर्कने होइन, तराईमा रोक्न थप मद्दत गर्नेछ ।” 

पहाडी क्षेत्र छोडी बसाइँ सर्नेको सङ्ख्या बढ्दो क्रममा भए पनि चाडपर्व आसपासमा पहाडी क्षेत्रका गाउँ भरीभराउ हुने गर्दछन् । गाेरखापत्र अनलाइन

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.