धनगढी । दश बर्षे शसस्त्र जनयुद्धमार्फत जनताका माैलिक अधिकार स्थापित गर्न सफल नेकपा माओवादीका नेता भगत बडुवाल कैलाली २ नम्बर क्षेत्रलाई २०६४ काे प्रथम संविधानसभा चुनावमय बनाउने दाउमा रहेका छन् । त्यसताका बडुवालले एमालेका मोहनसिंह राठौरलाई १० हजार ६१० मतले पराजित गरेका थिए ।
माओवादी एक्लै पार्टीबाट पनि जित्दै आएका भगत बडुवाल अहिले काँग्रेस एकिकृत समाजवादी लगायतका चार दलकाे गठबन्धनका साझा उम्मेदवार बनेका छन् । अघिल्लो पटक जितेका सांसदले केही गर्न नसकेको भन्दैउनले यस पटक आफूलाई जनताले जिताउने विश्वास व्यक्त गरे ।
‘पहिले यहाँबाट जितेर गएपछि पनि केही गर्न नसकेको आरोप छ । यस पटक फेरि उहाँलाई जिताउने मनसायमा यहाँका नागरिकहरू छैनन’, उनले भने, ‘गठबन्धनका उम्मेदवारहरूलाई जनताले भारी मतले विजयी बनाउनुहुनेछ ।’
सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका बडुवाल भिडिरहँदा प्रदेशसभा १ मा काँग्रेसका कमल शाह र २ मा माओवादीका नन्दबहादुर साउद चुनावी मैदानमा छन् । एमालेबाट प्रतिनिधिसभामा झपट रावल भिडिरहँदा प्रदेशसभा १ मा कमला ओली र २ मा डेजी पाण्डे चुनावी मैदानमा छन् ।
नागरिक उन्मुक्तिको दाबी
रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिका उम्मेदवार अरुण चौधरीले पनि कैलाली २ मा आफ्नो जीत निश्चित रहेको दाबी गरे । कांग्रेसमा छँदा महासमिति सदस्य रहेका चौधरी अघिल्लो पटक कांग्रेसबाट प्रदेशसभा र त्यसअघि मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट लम्की चुहाको मेयरमा उम्मेदवार बनेका थिए । तर उनी दुवै पटक पराजित भए ।
‘यसअघि प्राविधिक कारणले म झिनो मतले हारेको थिएँ । तर, यस पटक जीत पक्का हो’, उनले भने, ‘नागरिकहरूले अहिले नागरिक उन्मुक्तिलाई विश्वास गरिरहनुभएको छ ।’