धनगढी । नेपाली कांग्रेसको कारबाहीमा परेका पुष्करनाथ ओझाले कैलाली क्षेत्र नम्बर ५ बाट अगामी मंसिर ४ मा हुने चुनावमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । उम्मेदवार मनोनयन दर्ताको समय नजकिएसँगै ओझाले उम्मेदवारी दिने विषयमा निकटस्थहरुसँग छलफल थालेका हुन् ।
धनगढीस्थित रुवस होटलमा ओझा अहिले अगामी निर्वाचनमा उम्मेदवारी दिने भएकाले निकटस्थहरुसँग छलफलमा छन् । उनले कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श गरिरहेको उनी निकट स्रोतले जानकारी दिएको छ । ‘पुष्कर दाइले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने कुरा करिब तय भइसकेको छ,’ ओझा निकट स्रोतले भन्यो, ‘प्रतिनिधिसभामा एकल उम्मेदवारी दिने कि प्रदेशसभामा समेत उम्मेदवार बनाउने भन्ने विषयमा शुभचिन्तकहरुसँग सुझाव राख्न छलफल गरिरहनुभएको हो ।’
ओझाले छलफलमा आउने सुझावका आधारमा आवश्यक निर्णय लिएर शुक्रबार साँझसम्म पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्ने तयारी गरेको बताइएको छ ।