धनगढीमा अनशनरत डा.गोविन्द केसी उपचारकाेलागि काठमाडौं जाने

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा. गोविन्द केसी काठमाडौं जाने तयारीमा रहेको बताइएको छ । सरकारले मंगलबार डा. केसीलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं लैजाने भनिए पनि उनले अस्वीकार गरेका थिए । तर आज भने उनी आफैँ काठमाडौं जान तयार रहेको उनका सहयोगी डा. अमित जैशीले बताए ।

उनी उपचारका लागि काठमाडौं जान सहमत भएका हुन् । सेती प्रादेशिक अस्पतालका डेन्टल अधिकृत समेत रहेका उनका सहयोगी डा. जैशीका अनुसार डा. केसीलाई उपचारका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिनेछ । डा. केसी गेटा विमानस्थलबाट बुधबार अपराह्न श्री एयरलायन्सको जहाजमार्फत काठमाडौं जाने तयारीमा रहेको जैशीले बताए । 

चिकित्सा क्षेत्रको सुधारसहित सातबुँदे माग राखेर डा. केर्सी १० दिनदेखि धनगढीमा आमरण अनशनमा बसेका छन् । सेती प्रादेशिक अस्पतालमै अनशनमा बसेका उनको स्वास्थ्य अवस्था कमजोर बनेको चिकित्सकले बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.