प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठकले विस्तृत प्रतिवेदन बुझाउन निर्देशन दिएको कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री कार्कीले भने, “समग्र रुपमा छलफल गरेर १६५ वटै क्षेत्रको प्रतिवेदन बुझाउन निर्देशन भएको छ।” आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको गठबन्धनले सीट बाँडफाँड गर्न गत साउन २१ गते कार्यदल गठन गरेको थियो।
सीट बाँडफाँडमा सहमति नजुटेपछि कार्यदलले शीर्ष नेतालाई नै टुंगो लगाउन आग्रह गरेको थियो। त्यसयता तीन दिन बसेको गठबन्धनको बैठकले पुनः कार्यदललाई नै सबै क्षेत्रको अवस्थाबारे प्रतिवेदन बुझाउन निर्देशन दिएको हो।
गठबन्धनमा सहभागी दलले कांग्रेस र अन्य चार दलले बराबरी सीट बाँडफाँड गर्नुपर्ने दाबी गरेपछि सहमति जुट्न सकेको छैन। यसअघि गठबन्धन कार्यदल पनि यहि विषयलाई लिएर निश्कर्षमा पुग्न सकेको थिएन।