नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक अहिले बिहान ८:३० मा बस्दैछ । आजको बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादीले जनाएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । यसअघि बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो ।
पार्टी महाधिवेशन सकिएको आठ महिनापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल केन्द्रीय पदाधिकारी टुग्याउने अन्तिम गृहकार्यमा लागेका छन् । तत्कालका लागि पुराना र वरिष्ठ नेतालाई ‘व्यवस्थापन’ गर्न ‘अन्तरिम’ पदाधिकारी बनाउने र आमनिर्वाचनपछि विशेष महाधिवेशन गरेर अधिकारसम्पन्न पदाधिकारी चयन गर्ने योजनामा दाहाल रहेकाे प्रचण्ड निकटस्राेतले जानकारी दिएकाे छ ।
यसअघि दाहालले विवाद निम्तिने जोखिमका कारण पदाधिकारी चयनलाई टार्दै आएका थिए । खास गरेर महासचिवमा अर्थमन्त्री जनार्दन शर्मा र नेता वर्षमान पुनले एक–अर्कालाई स्वीकार गर्न नसकेपछि दाहालले तेस्रो विकल्पमा प्रवेश गरेर नेताहरू ‘व्यवस्थापन’ गर्न चाहेका हुन् । दाहालले शर्मा र पुनको विकल्पका रूपमा देव गुरुङ वा हरिबोल गजुरेलमध्ये एकलाई महासचिव बनाउने तयारी गरेका छन् ।
‘महासचिवमा दुई (पुन र शर्मा) जनाको झगडा पर्यो । चुनावमा जान अध्यक्ष मान्नुभएन,’ एक नेता भन्छन्, ‘चुनाव नहुने भएपछि महासचिवसहित पदाधिकारीमा सबैको चित्त बुझाउने जिम्मा तपाईंको हो भनेका हौं । त्यसकारण पदाधिकारीको नाम अध्यक्षको खल्तीमा छ । शुक्रबार बैठकमा प्रस्ताव गर्नुहोला ।’