काठमाडौ । सुदूरपश्चिमका दुईवटा जलविद्युत् परियोजना विकासका लागि विस्तृत परियोजना अध्ययन गर्न भारतीय सरकारी कम्पनी एनएचपीसी लिमिटेड इन्डियाससँग बिहीबार सम्झौता भएको छ ।
बहुप्रतीक्षित पश्चिम सेती जलविद्युत् आयोजना (७५० मेगावाट) र सेती नदीको तल्लो तटीय क्षेत्रमा निर्माण हुने ४५० मेगावाटको सेती नदी–६ (एसआर–६) जलविद्युत् परियोजना विकासका लागि विस्तृत परियोजना अध्ययन गर्न लगानी बोर्डले भारतीय सरकारी कम्पनी एनएचपीसीसँग सम्झौता गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा अर्थ जलश्राेत तथा उर्जामन्त्री लगायत सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टको समुपस्थितिमा लगानी बोर्डका प्रमुुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपीसीका अध्यक्ष एके सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापत्रमा सो कम्पनीले सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र विस्तृत परियोजना अध्ययन गरी अध्ययन प्रतिवेदन पेस गरिसक्नुपर्ने उल्लेख गरिएको छ । अध्ययनमा परियोजनाको भौगर्भिक, प्राविधिक, सामाजिक, आर्थिक तथा वातावरणीय पक्ष, परियोजनालाई जलाशय वा अर्धजलाशय वा संयुक्त रूपमा वा छुट्टाछुट्टै निर्माण गर्न सकिने विषयको यथेष्ट विवरण, लागत अनुमान, निर्माण सुरु तथा निर्माण सम्पन्न हुने समय र कार्ययोजनाका विवरण प्रतिवेदनमा ल्याउनुपर्ने उल्लेख छ ।
यस्तै सम्झौतापत्रमा परियोजनाबाट उत्पादित बिजुलीको बजार सुनिश्चितता, प्रसारण लाइन निर्माण, वित्तीय स्रोतको व्यवस्थापन र परियोजना कार्यान्वयनको तरिका र विधिबारे पनि प्रतिवेदनमा उल्लेख हुनुपर्ने सम्झौतापत्रमा उल्लेख छ । परियोजना विकास सम्झौता र पछिल्ला कार्य सम्पन्न गर्न नेपाल सरकारका तर्फबाट लगानी बोर्डको कार्यालयले आवश्यक सहजीकरण गर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ ।