चुनावी गठबन्धन राष्ट्रिय हितमा एकाकार हुनुपर्छ

निर्वाचनको मिति घोषणा भएसँगै पुन: मुलुक चुनावी माहोलमा होमिएको छ । स्थापित राजनीतिक दलहरूले चुनावलक्षित पार्टी बैठक, प्रशिक्षणहरू चलाइरहँदा नवघोषित दलहरूले भने पार्टीको भेला तथा संगठन विस्तार कार्यक्रमलाई तीव्र बनाएका छन् । गएको असार पहिलो साता पार्टी गठन गरेका चर्चित सञ्चारकर्मी रवि लामिछाने अहिले संगठन विस्तारमा व्यस्त छन् । त्यस्तै जनता समाजवादी पार्टीबाट अलग्गिएर छुट्टै पार्टी खोल्न पुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी पनि चुनावी मैदानमा उत्रिने तयारी गर्दैछ ।

भवानी ऐर

यसका अलावा केही युवाहरूको जमातले पनि आगामी चुनावलाई लक्षित गर्दै दल दर्ता गरेका छन् । अनि देशका विभिन्न स्थानबाट चुनाव लड्ने भन्दै स्वतन्त्र युवाहरूले पनि सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा र प्रचार गरिरहेका छन् । यी सबै गतिविधिको समष्टिगत संश्लेषण हो, अब मुलुक चुनावी माहोलमा होमिइसकेको छ । सबै आफ्नो क्षमता, हैसियत र गच्छेअनुसार चुनावी अभियानमा केन्द्रित भइसकेका छन् । उम्मेदवार हुनेहरूको चहलपहल र अभियानहरू पनि घनीभूत हुँदैछन् ।

सहर-बजारका युवाहरूले सबैजसो मूलधारका राजनीतिक दलहरूका शीर्ष नेतृत्वलाई चुनावमा पराजित गरेर परिवर्तनको आभास दिनुपर्ने माग र अभियान सञ्चालन गरिरहेका छन् । विशेषगरी उनीहरूले यस्तो अभियान सामाजिक सञ्जालहरूमा सक्रिय बनाएका छन् । चोक, गल्लीदेखि चियापसलसम्म चुनावी गफ हुन थालेका छन् । मूलधारका राजनीतिक दल र उनीहरूको कार्यशैलीप्रतिको तीव्र असन्तुष्टि नै त्यस्ता गफका विषय बन्ने गरेका छन् ।

जनतालाई विकल्प चाहिएको छ । सुशासन र सदाचार अनि डेलिभरीमुखी राजनीति उनीहरूको माग हो । अहिलेको वर्तमान आवश्यकता पनि त्यही हो । तर, मूलधारका राजनीतिक शक्तिहरूले राजनीतिको डेलिभरी बुझ्न सकेनन् । उनीहरू पारम्परिक शैलीमा जनताको भावना र संवेदना उराल्दै चुनावी गतिविधिमा केन्द्रित  हुँदैछन् । त्यसैले तिनको एजेण्डा र प्रचारमा नयाँपन देखिंदैन । तथापि दशकौं नेपाली समाजमा जरा गाडेर बसेका पार्टीहरूको विरासत भत्काउँदै चुनावमा बाजी मार्नु सामान्य विषय भने देखिंदैन । नयाँ पुस्ताका ‘स्वतन्त्र’हरूका लागि यो निकै ठूलो चुनौती हो । तथापि चुनावी मैदानमा उत्रिएका र उत्रिने तयारीमा रहेका पुरानादेखि नयाँसम्मका दाबेदारहरू अहिले चुनावी माहोल खडा गर्ने कार्यमा व्यस्त छन् ।

हालै सत्ता गठबन्धनका पाँच दलहरूले संयुक्त गठबन्धन गरी चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । सत्ताधारी गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरी चुनावमा जाने निधो गरेर सिट बाँडफाँटका लागि सबै दलका प्रतिनिधिहरू सम्मिलित एक कार्यदल बनाएका छन् ।

संभवतः यो अबको केही दिनभित्र नै संयुक्त कार्यदलले सिट बाँडफाँट सम्बन्धी सुझावसहितको प्रतिवेदन दिनेछ र सत्ताधारी दलहरूबीचको चुनावी गठबन्धनले औपचारिकता पाउनेछ । यो गठबन्धनको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । सत्ता गठबन्धनको नेतृत्वकर्ता र सत्ता-गठबन्धनको ठूलो दल भएकोले नेपाली कांग्रेसलाई चुनावी सिट संख्या समायोजनका लागि निकै सकस पर्ने देखिन्छ । त्यसो त नेपाली कांग्रेसले संभवतः आगामी निर्वाचनमा आफ्नो सहज बहुमत ल्याउने मनोकांक्षा राखेर सिट बाँडफाँटको रणनीति अख्तियार गर्नेछ, यदि त्यसो भयो भने दलहरूबीच सहजै गठबन्धनले औपचारिक स्वरूप हासिल गर्नेमा सन्देह रहन सक्छ ।

सत्ताधारी दलहरूको चुनावी गठबन्धन एउटा विषय हो, तर ती दलहरूले बोक्ने राजनीतिक विचार र समकालीन राजनीतिक एजेण्डाहरू भने फरक-फरक छन् । नेपाली कांग्रेस मूलतः नवउदारवादी अर्थ-राजनीतिको अभ्यासकर्ता हो भने, नेकपा माओवादी र नेकपा एस साम्यवादी लक्ष्य बोकेका पार्टी हुन् । उता जसपा भने नेपालमा ‘समुन्नत संघीय समाजवाद’ लाई नै राजनीतिक गन्तव्य बनाएर समावेशी लोकतन्त्र र सामाजिक न्यायको वकालत गर्ने पार्टी हो । अर्कोतिर राष्ट्रिय जनमोर्चा भने संघीयताको स्पष्ट रूपमा विरोध गर्ने र साम्यवादी लक्ष्य बोक्ने पार्टी हो ।

त्यसैले यो चुनावी गठबन्धन कुनै सैद्धान्तिक एवं वैचारिक जगमा आधारित गठबन्धन हैन । तत्कालीन नेकपाका एक अध्यक्ष खड्गप्रसाद ओली नेतृत्वको सरकारले गरेको असंवैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध लोकतन्त्रको पुनर्बहालीका लागि यो गठबन्धन निर्माण भएको हो । तत्कालीन ओली सरकारको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक एवं स्वेच्छाचारी शासनका विरुद्ध संघर्ष गर्ने क्रममा सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूबीच बृहत् सहकार्य हुँदा निर्माण भएको हो ।

लोकतन्त्रको रक्षार्थ, विधिको शासन स्थापनाका लागि बृहत् राजनीतिक संवाद र सहकार्यकै दौरान निर्माण भएको हो यो गठबन्धन । आगामी चुनावमा पाँचदलीय गठबन्धन कायमै रहँदा राम्रै हुने देखिन्छ । किनकि यसले सहकार्यको राजनीतिलाई संस्थागत गरिदिन्छ । यसर्थ, दलहरूले बोक्ने राजनीतिक विचारबाट भन्दा पनि व्यावहारिक लोकतान्त्रिक अभ्यासलाई स्थापित गर्दै लोकतन्त्रलाई बलियो बनाउने उद्देश्य नै गठबन्धनको मूल ध्येय हो । त्यसैले व्यावहारिक राजनीतिका लागि सत्ताधारी दलहरूले गठबन्धन गरी चुनावी मैदानमा उत्रिनुलाई सकारात्मक नै मान्न सकिन्छ । यस्तो अभ्यासले दलहरूबीच सहकार्यात्मक भावना मजबुत हुन जान्छ । साथै मुलुकका जल्दाबल्दा विषयहरूमा सामूहिक धारणा निर्माण हुन सक्छ ।

अहिलेको चुनावी एजेण्डाहरू भनेको मुलुकको राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आर्थिक एवं समावेशी विकास, समृद्धिका साथै जनताको उन्नति र प्रगतिको मार्गप्रशस्त गर्नु हो । जनतालाई सहज सेवा-सुविधा उपलब्ध गराउँदै मुलुकलाई उन्नतितर्फ अग्रसर गराउनु हो । उत्पादन, निर्माण र समृद्धिमुखी राजनीतिको जग बसाउनु हो ।

यी सबै एजेण्डा लागू गर्दै मुलुकको बृहत्तर हितका लागि मुख्य राजनीतिक दलहरूबीच मतैक्यता हुनु जरूरी छ, जुन विगतमा विरलै भयो । अहिलेसम्म दलहरूबीच राष्ट्रिय हित प्रवर्द्धन गर्ने विषयमा कहिल्यै एकमत हुन सकेन । संवाद र सहकार्यको संस्कारलाई बरकरार राख्दै मुलुकका जल्दाबल्दा समस्याको पहिचान र समाधानका लागि सामूहिक धारणा बनाउँदा जति सहज हुन्छ, एक्लाएक्लै ती मुद्दाहरूलाई स्थापित गर्न कठिन हुन्छ ।

त्यस्तै मुलुकको राष्ट्रिय हित र स्वार्थलाई आत्मसात् गर्दै राष्ट्रहितका सवालमा पनि न्यूनतम साझा धारणा निर्माणका लागि गठबन्धनको संस्कार जरूरी छ । आशा गरौं, यसपटक दलहरूबीचको चुनावी गठबन्धनले त्यो एकताभावलाई नयाँ उचाइमा पुर्‍याउनेछ र गठबन्धन कामयाबी हुनेछ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.