काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन आगामी मङ्सिर ४ गतेका लागि सरकारले निर्णय गर्ने तयारी गरेको बताएका छन् । निर्वाचन आयोगमा आज भएको पत्रकार सम्मेलनमा उनले सो जानकारी गराएका हुन् ।
“आयोगले आगामी मङ्सिर २ गतेका लागि आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मितिबारे परामर्श सरकारलाई दिए पनि मङ्सिर ४ गते निर्वाचन एकै चरणमा गर्नेगरी सरकारले आगामी मन्त्रीपरिषद बैठकबाट निर्णय गरेमा आश्चर्य नमान्नुहोला” उनले भने । सामान्यतयाः निर्वाचन गर्न आयोगलाई १२० दिन समय चाहिने भएपनि अब घोषणा हुने मितिले सो दिन अपुग हुने उनकाे भनाई थियाे ।
आगामी निर्वाचनबारे आयोगले आन्तरिक तयारी गरिरहेकाले केही समय कम भएपनि आयोग निर्वाचन सम्पन्न गर्न सफल हुने विश्वास उनले व्यक्त गरे । उनले भने “आगामी निर्वाचनमा खर्चको अनुपात केही बढ्ने देखिए पनि सकेसम्म मितव्ययी बनाउने प्रयासमा आयोग लाग्छ ।”