खाद्यसंकटमा रहेका बाजुरेलीलाई बहुक्षेत्रिय पोषण योजनाद्वारा खाद्यन्न वितरण

भवानी ऐर

धनगढी । मानव विकास सुचांकमा सबैभन्दा पछाडी रहेको बाजुरामा पोषण तथा खाध्य सुरक्षा अन्तरगत खाद्यन्न वितरण गरिएको छ । मुख्यमन्त्री त्रिलाचन भट्ट अध्यक्ष रहेको प्रदेश नीति तथा योजना आयोगको निर्णय बमोजिम बहुक्षेत्रिय पोषण योजनाद्वारा शनिबार खाद्यान्न वितरण गरिएको हो ।

बहुक्षेत्रिय पोषण योजनाका प्रदेश संयोजक ज्ञानेन्द्र दवाडीका अनुसार खाद्य संकटको चरमताबाट गुज्रिएको बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका मुक्तिकोटबासीका लागि सर्बप्रथम खाद्य उपलब्धता नै मुख्य काम रहेको ठहर गरी यस आयोगको बहुक्षेत्रिय पोषण कार्यक्रममा विनियोजित बचत रकमबाट बर्षादको समयमा अझै कुपोषण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै २०७९ साल जेठ २१ गते खाद्यान्न वितरण गरिएका हो । उक्त गाउँका ३०० परिवारलाई ४० किलाे चामल, २ किलाे दाल (मास र मुसुरो मिक्स), १ पोका खाने तेल, १ पोका आयोडिन युक्त नुन एक समाराेकावीच वितरण गरिएकाे कार्यक्रम संयोजक दवाडीले जानकारी दिए ।

No description available.प्रदेश नीति तथा योजना आयोगका सचिव नारायणप्रसाद पौडेल, स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशी,  बुढीगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक शाहको उपस्तिथिमा खाध्य वितरण कार्यक्रमको अध्यक्षता स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ का अध्यक्ष अजय कुमार बिकले गरेका थिए ।

मानव विकास सुचाकंमा सबैभन्दा पछाडी रहेको बाजुरामा पोषण तथा खाध्य सुरक्षा चुनौती

मानव विकास प्रतिवेदन २०१४ अनुसार मानव विकास सुचाकंको सबै भन्दा कम अर्थात ०.४२५ रहेको बाजुरा जिल्लामा रहेका ९ स्थानीय तहहरुमध्ये स्वामीकार्तिक खापर गाउँपालिका पिछडिएको स्थानीय तहहरुमध्येको एक हो । यस गाउँपालिकाको पुर्वमा कालिकोट र मुगु जिल्ला, पश्चिममा जग्गनाथ गाउँपालिका, उत्तरमा हिमाली गाउँपालिका र दक्षिणमा कालिकोट जिल्ला संग सिमाना जोडिएको छ । यस गाँउपालिका बाजुरा जिल्लाको कर्णाली पारी भनेर चिनिने साबिकका वाई, जुकोट र साप्पाटा गरि तीनवटा गा बि स मिलेर बनेको गाउँपालिकाको हो । जम्मा ११०.५६ बर्ग किलोमिटरमा फैलिएको यो गाउँपालिकामा खेतियोग्य जमिन एकदमै न्यून रहेको छ ।

यस गाउँपालिकाका कुल ५ वटा वडाका २३०३ घरधुरीमा १४९५७ व्यक्तिहरुको बसोबास रहेको छ । त्यसमा वडा नं १ अन्तर्गतको मूक्तिकोट अत्यन्तै पिछडिएको क्षेत्र हो जहाँ करिब ४०० दलित घरधुरीको बसोबास रहेको छ । नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको गरिव घरधुरी सहयोग समन्वय बोर्डको सचिवालयको प्रतिवेदन अनुसार मूक्तिकोटमा ७५ प्रतिशत परिवारहरु अत्यन्त विपन्न छन् भने ९५ प्रतिशत घरधुरीहरुले खाद्यसंकट बेहोर्नु परिरहेको छ । यहाँका अघिकांश मानिसहरु रोजगारीको लागि भारतमा निर्भर छन् । चरम भोकमरी, गरिबी, अशिक्षा र भौगोलिक विकटताका कारण पोषणको पहुचबाट टाढा र कुपोषणको मात्रा धेरै रहेको छ ।

स्वामीकार्तिक गाउँपालिका कार्यालयबाट मुक्तिकोट करिब ५-६ घण्टा र १ नं वडा कार्यालय २-३ घण्टाको दूरीमा रहेको छ । यो वडामा ३ महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् जस मध्ये मुक्तिकोटमा १ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् भने २ कर्मचारीसहित भर्खरै स्थापना गरिएको १ सामुदायिक स्वास्थ्य इकाई रहेको छ । मूक्तिकोटबाट नजिकैको बहिरंग उपचार केन्द्र करिब २-३ घण्टाको दूरीमा रहेको सपाटा स्वास्थ्य चौकीमा रहेको छ । नजिकैको स्वास्थ्य संस्था खोलीकोट आधारभूत स्वास्थ्य सेवा केन्द्रमा बर्थिङ सेन्टर नरहेकाले सुत्केरी सेवाको लागि ३ घण्टाको दुरीको सपाटा हेल्थपोस्ट वा १.५ घण्टाको दुरीको फयालगाउँ सामुदायिक स्वास्थ्य इकाई जानुपर्ने अवस्था रहेको छ । स्वास्थ्य संस्था टाढा भएकाले धेरै महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । यसै वर्षदेखि बाजुरा जिल्ला अस्पतालमा कुपोषण उपचार तथा व्यवस्थापनका लागि पोषण पुनर्स्थापना गृह सञ्चालनमा ल्याइएको छ जुन मुक्तिकोटबाट करिब १०-१२ घण्टाको दूरीमा रहेको छ ।

No description available.भौगोलिक विकटता, खेतीयोग्य जमिनको अभाव, खडेरी, पानीको स्रोतको अभाव, चरम बेरोजगारी, शिक्षा, खानेपानी, सरसफाई जस्ता आधारभूत सेवाको अभाव, बाल विवाह, छाउपढीजस्ता सामाजिक कुरीति विद्यमान हुनु, अन्य जीविकोपार्जनका लागि वैकल्पिक उपाय र अन्य आम्दानीका स्रोतको कमी, स्वास्थ्य सेवाका लागि सहज पँहूच नहुनु, सामाजिक सुरक्षाका कार्यक्रमहरुको न्यूनता जस्ता कारणले पोषणको अवस्थामा अपेक्षित सुधार हुन सकेको छैन । २०७८ साउनदेखि मुक्तिकोटमा ५ वर्ष मुनिका ६ जना बालबालिकाको मृत्यु भएको छ । बाजुरामा कुपोषणको कारणले २०७८ साउनदेखि ५ वर्ष मुनिका ६ जना बालबालिकाको मृत्यु भएको खबर सञ्चार माध्यममा आएपछि प्रदेश तथा स्थानिय तहको नेतृत्व तथा यूनिसेफ, सुआहारा लगायतका सरोकारवाला निकायहरुको संम्लग्नतामा मुक्तीकोटको पोषणको अवस्थाको लेखाजोखा भएको छ ।

उक्त लेखाजोखाबाट ६ महिना देखि पाँच बर्ष मुनिका कुल २९३ बालबालिकाहरू मध्ये ४५ जनामा (Moderate Acute Malnutrition) (मध्यम शिघ्र कुपोषण) र १६ जनामा Sever Acute Malnutrition ( कडा शिघ्र कुपोषणका) देखिएको छ । मुक्तीकोटमा खाद्य सुरक्षाको अवस्था अत्यन्त कमजोर रहेको- जसमा जम्मा २४३ घरधुरीमा बर्ष दिनसम्म खान पुग्ने १ परिवार पनि नरहेको, खाद्य आपूर्ति र स्वच्छ पानीको अभाव, लैंगिक विभेद, बालविवाह प्रमुख समस्या रहेको छ भने समुदाय नै पहिरोको जोखिममा छ । बाजुरेलीले बेहोर्ने अर्को दुःख हो–खाद्य संकट । जिल्लावासीको प्रमुख पेशा कृषि हो । तर, खाद्यसंकटको हिसाबले यो जिल्ला सुदूर पहाडकै सबैभन्दा जोखिमयुक्त जिल्ला हो ।

जिल्लामा बाली सप्रेकै सिजनमा समेत बार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार ४० प्रतिशत बाजुरेलीलाई आफ्नो उत्पादनले ३ महिनासम्म पनि खान पुग्दैन । त्यसो त ९।२१ प्रतिशत जमीनमात्रै खेतीयोग्य छ, सिंचाई १।४२ मा मात्रै । बाजुरामै पनि सबैभन्दा बढी गरिबी दर रहेको स्वामिकार्तिक खापर गाउँपालिका–१ मुक्तीकोटको अवस्था अझै भयावह छ ।
यस समस्यालाई बहुआयामिक दृष्टिकोणबाट विश्लेषण गरी विकासका सवै आयामहरु (कृषि, खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, महिला शशक्तिकरण, जीविकोपार्जन, सिपमूलक कियाकलाप) लाई एकिकृत गरी तीनै तहका सरकारले विशेष प्याकेज तयार गरी लक्षित वर्ग केन्द्रित बहुक्षेत्रीय कार्यक्रम यथासक्य लागु गर्न जरुरी देखिन्छ ।

हालै सम्पन्न गरिएका क्रियाकलापहरुः

मुक्तीकोट गाउँमा बालबालिकामा मात्रै नभइ किशोरकिशोरी र आमाहरुमा पनि कुपोषणको अवस्था भयावह छ । विगतमा गुमनाम अवस्थामा रहेको मुक्तिकोटको कुपोषण अवस्थाबारे हालै गरिएको अध्ययनले त्यहाँका ५ वर्ष मुनिका बालबालिकामा शीघ्र कुपोषणको अवस्था २१ प्रतिशत रहेको छ । जस मध्ये ५।५ प्रतिशत कडा शीघ्र र १५।३५ प्रतिशत मध्य शीघ्र रहेको ।प्रजन्न उमेरको महिलाहरूमा १२ प्रतिशत कडा शीघ्र तथा २९ प्रतिशत मध्ये शीघ्र कुपोषण रहेको । स्वास्थ्य संस्थामा सेत्कुरी गराउने जम्मा ३७ प्रतिशत रहेको छ । ३८ प्रतिशत घरधुरीमा शौचालय नभएको , १ जना महिलाले १३ जनासम्म बच्चा जम्माएको, हरेक तीन आमाहरुमध्ये दुइ जनाले कम्तीमा एक सन्तान गुमाएको,९० प्रतिशत भन्दा बढी घुरधुरीले दुषित पानीको प्रयोग गर्ने गरेको पाइएको उल्लेख छ ।

यस्तै, ६५ जना पाँच वर्ष मुनिका बालबालिका कुपोषित रहेको र तिमध्ये १६ को अवस्था गम्भिर रहेको पाइएको । मुक्तिकोटका ६ महिनादेखि ५ वर्ष उमेरका २८२ बालबालिकामध्ये १९ प्रतिशत बालबालिकाले पूर्ण खोप नपाएको र ०७८ कार्तिकमा संचालन गरिएको भिटामिन ए क्याप्सुल खुवाउने कार्यक्रमबाट २८ प्रतिशत बालबालिका बञ्चित भएको, ६३ प्रतिशत महिलाहरु घर मै असुरक्षित सुत्केरी हुने गरेको नवजात शिशुको मृत्यूको मुख्य कारण रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । कुपोषणको अर्को मुख्य कारण गरिबी हो । पोषिलो त टाढाको कुरा, पेटभरि खान नपाएर बालबालिका, महिला र किशोरकिशोरीहरु कुपोषित हुने गरेका हुन् ।

मुक्तिकोटका १८ परिवारलाई आफ्नै उत्पादनले एक दिन पनि खान नपुग्ने, एक सय ८६ परिवारलाई एक महिना खान पुग्ने, २७ परिवारलाई तीन महिनाभन्दा कम र सात परिवारलाई मात्रै आफ्नै उत्पादनले ६ महिनाभन्दा बढि खान पुग्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।जिल्लावासीको मुख्य आम्दानीको स्रोत कृषि हो । तर, कुनै पनि उत्पादनमा जिल्ला आत्मनिर्भर छैन । धेरै खेतीयोग्य जमिन नै छैन, भएको ठाउँमा पनि सिँचाइको समस्या छ । राष्ट्रिय जनगणना ०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लाको जनसंख्या एक लाख ३८ हजार ९९८ छ ।

नौ स्थानीय तहमध्ये चार वटा नगरपालिका भएपनि एक तिहाईभन्दा धेरै जनसंख्या खाद्य संकट बेहोर्न बाध्य छ । सरकारले गरेको गरीब घरपरिवार पहिचान २०७२ अनुसार बाजुरामा ७१।१ प्रतिशत जनसंख्या गरिब रहेको देखाएको छ । त्यसमध्ये ३५ प्रतिशत अति गरीब, २२ प्रतिशत मध्यम गरीब र १४ प्रतिशत सामान्य गरीब छन् ।

हालसम्म भएका कार्यहरु

  • प्रदेश स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठकमा यो विषय छलफल भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उक्त समुदायमा के गर्न सकिन्छ भनेर छलफल भएको ।
  • छलफल पश्चात बहुक्षेत्रिय पोषण संयोजक, यूनिसेफ, सुआहारालाई परिचालन गरी समुदायको अवस्था जानकारी लिने तथा समुदायको पोषणको अवस्थाबारे अध्ययन गरिएको ।
  • गम्भीर कुपोषित ९क्ब्ः० र मध्यम कुपोषित ९ःब्ः० बालबालिकाको पहिचान गरी उपचार गर्न थप च्ग्त्ँ पठाइएको ।
  • समुदायको पोषणको अवस्था विश्लेषण पश्चात अवस्थाको जानकारी गराउन प्रदेशस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक गरी अवस्थाको बारेमा जानकारी गराइएको ।
  • समितिको निर्णय बमोजिम प्रभावित समुदायमा तत्काल खाद्यान्न वितरणका लागि आवश्यक स्रोत जुटाउन स्थानीय तहलाई बहुक्षेत्रीय पोषण योजनाको २ वटा बजेट शिर्षकको बजेट जम्मा रू ३,३३,७५० (तीन लाख तेत्तीस हजार सात सय पचास) खाद्यान्न वितरण गर्न सक्ने भनेर स्थानीय तहलाइ स्वीकृती प्रदान । सो रकम प्रयोग गरी स्थानीय तहले खाद्यान्न वितरण गरिएको ।
  • १८९ घरधुरीलाई प्रति घर ३० किलोग्राम चामल, ३ किलोग्राम दाल र १ पोका खाने तेल वितरण परिवार नियोजन शिविर संचालन गर्नका लागि सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य कार्यालयलाई रकम विनियोजन भएको ।

तसर्थ, यहाँको कुपोषणको अवस्था स्वास्थ्य मात्र नभई यहाँको सामाजिक, आर्थिक, भौगोलिक अवस्थाको उपज हो । यस क्षेत्रमा विगत केही बर्षबाट बहुक्षेत्रीय पोषण योजना तथा सुआहारा लगायत पोषण तथा खाद्य सुरक्षा कार्य गार्ने अन्य संघसंस्था रहेको र निर्वाचित जनप्रतिनिधिको नेतृत्वमा पालिका तथा वडास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको गठन भई पोषण सम्वन्धि विभिन्न क्रियाकलाप संचालन हुँदै आएको भएता पनि पोषणको अवस्था सुधारका लागि बहुक्षेत्रीय समन्वयमा आशातित सफलता प्राप्त हुन सकेको छैन ।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.