धनगढी । नेपाली कांग्रेसले टिकट नदिएपछि प्यानलसहित वडाध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका कञ्चनपुरको पुनर्वास नगरपालिकाका श्रवण रानाको टिम नै विजय भएको छ । उनले आफूसहित पाँचजनाको टिम बनाएर स्वतन्त्रबाट उमेदवारी दिएका थिए । उनले वडा नम्बर ८ का लागि उमेदवारी दिएका थिए ।
राना ०७४ को स्थानीय निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित भएका थिए ।अहिले उनी ८१८ मतसहित विजयी भएका हुन् । नेपाली कांग्रेसका परि रावलले ४५८ मत पाउँदा एमालेले ३३२ ल्यायो । महिला सदस्यामा देवी कार्की ६३२, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१, सदस्यमा दिपेश मल्ल ६६४ र दुलेराम राना ६१३ मत ल्याएर निर्वाचित भए ।
उनीहरूले गुलाबको फूल चुनाव चिह्न पाएका थिए । स्वतन्त्र उमेदवारलाई जनताले मत मात्रै दिएनन् आर्थिक संकलन गरेर चुनावी खर्च पनि दिएका थिए । “मलाई जनताले मत मात्रै होइन आर्थिक संकलन गरेर चुनावी खर्च दिए,” नवनिर्वाचित अध्यक्ष रानाले भने”, दुईदेखि १० हजारसम्म आर्थिक सहयोग गरेका छन् ।” वडामा राम्रो काम गरेपनि आफूलाई कांग्रेसले टिकट नदिएको उनको आरोप छ ।