धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले जनसंघ्रषबाट प्राप्त उपलब्धिहरुकाे रक्षामा सञ्चार जगतको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् । शुक्रबार लाेकपृय मिडिया रातोपाटी डटकमको सुदूरपश्चिम प्रदेश कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले यस्ताे बताएका हुन् ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित लक्ष्मीनारायण चौकमा मुख्यमन्त्री भट्टले रिवन काटेर र कम्प्युटरमा अनलाइनको लिंक खोलेर कार्यालयकाे समुद्घाटन गरेका हुन । सो अवसरमा बोल्दै मुख्यमन्त्री भट्टले राष्ट्रिय मिडियाहरुको कार्यालय प्रदेश तहमा स्थापना हुनुले संघीयता कार्यान्वयनमा थप बल पुग्ने बताए ।
‘देश संघीयतामा गएसँगै स्वभाविक रुपमा सबै क्षेत्रका संरचनाहरु त्यहाँ स्थापना हुनुपर्छ,’ उनले भने, ‘संरचनाहरूले सोही आधारमा काम कारबाही अघि बढाउनुपर्ने हुन्छ ।
संघीयताको विषयमा, हालको व्यवस्था सँगसँगै अन्य विषयमा पनि हामीले बढी कलम चलाउनुपर्ने हुन्छ ।’ उनले व्यवस्थाको संस्थागत विकास गर्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधीहरु सकारात्मक हुन जरुरी रहेको बताए ।
उनले सरकारको नजर पुग्न नसकेको ठाउँमा सञ्चारमाध्यमले कलममार्फत उजागर गर्न आवश्यक रहेको बताए । ‘दुरदराजको ठाउँका समाचारहरु विकास, प्रशासन, समाज रुपान्तरण, वेथिती र भ्रष्टाचार लगायतका कुरालाई उजागर गर्दा रुपान्तरण गर्न सकिन्छ,’ उनले भने । उनले निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन पनि सञ्चार जगतको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले सुदूरपश्चिम प्रदेश सरकार केन्द्रको गठबन्धन अनुरुप नै चलिरहेको पनि बताए ।
नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सदस्य खगराज भट्टले रातोपाटीले प्रदेशका समाचारहरूलाई उचित स्थान दिनुपर्नेमा जोड दिए । यसेगरी नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष रतन थापाले सञ्चार क्षेत्रले परिवर्तन ल्याउनमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेको बताए ।
रातोपाटीका संस्थापक प्रधानसम्पादक ओम शर्माले लुकेका र लुकाइएका समाचारमाथि रातोपाटीले सँधै नजर राख्ने बताउँदै पत्रकारले पनि जनता र परिवर्तनको पक्षमा कलम चलाउनुपर्नेमा जोड दिए । उनले संघीयताको मर्मअनुरुप प्रदेश सरकारले जनताको पक्षमा काम गर्नुपर्ने धारणा पनि राखे ।