डोटी । सत्तारुढ गठबन्धनमा रहेका ३ दलले डोटीमा पनि चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । मंगलबार कांग्रेसका डोटी सभापति नरेन्द्र बहादुर सिंहको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले आगामी स्थानीय तहको चुनावमा आपसी सहमतिका आधारमा तालमेल गर्ने निर्णय गरेको हो ।
बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा आवश्यकता र आपसी सहमतिका आधारमा तालमेल गर्ने गरी निर्णय भएको कांग्रेसले जनाएको छ । बैठकमा नेपाली कांग्रेसका तर्फबाट पार्टी सभापति सिंह र उपसभापति विजय खड्का उपस्थित थिए । नेकपा माओवादी केन्द्रबाट खगेन्द्र बहादुर साउँद (केबी), नेकपा एकिकृत समाजवादीबाट दिर्घराज बोगटी र नारद मलासी सहभागी थिए ।
जिल्लाका ९ वटै पालिकाहरु र सबै वडाहरुमा गठबन्धनको आवस्यकता छ/छैन भन्ने बारे २४ गते भित्र सुझाव पठाउन मातहतका समितिलाई आग्रह गरेको सभापति सिंहले बताए । पालिकाहरुबाट सुझाव आएपछि कुन– कुन ठाउँमा तालमेल गर्ने वा नगर्ने बारे एकिन हुने उनले बताए । अहिलेलाई केन्द्रको निर्देशन अनुसार बैठक बसेर आवश्यकता र आपसी सहमतिका आधारमा तालमेल गर्ने निर्णय भएको उनले बताए ।
यसअघि केन्द्रको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, अछाम र डडेल्धुरामा चुनावी तालमेल हुने सहमति भइसकेको छ।