गठबन्धनद्वारा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

काठमाडौं । चुनावी गठबन्धन सम्बन्धमा छलफल गर्न बसेको  सत्ता गठबन्धनको बैठक सम्पन्न भएकाे छ । मंगलवार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा साे समिति गठन गरेकाे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सदस्य बनाइएको छ । माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन र देव गुरुङ तथा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट महासचिव डा. वेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेललाई सदस्य बनाइएको एक नेताले जानकारी दिए ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट नेता अशोक राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई प्रतिनिधित्व गराइएको छ । राष्ट्रिय जनमोर्चाका तर्फबाट भने हिमाल पुरी समिति सदस्य बनेका छन् ।बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तीन दिने भारत भ्रमणको ब्रिफिङ गरेकाे पनि उनले बताए ।

यसैगरी, देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारकोतर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग बृहत् अन्तरक्रिया गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा प्रधानमन्त्री देउवासहित, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीलगायत गठबन्धन दलका शीर्ष नेताहरु सहभागी हुनुभएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.