नेपाली धनाण्ढ्य विनोद चौधरीविरुद्ध उजुरी दर्ता

मधेसी कोटाबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य जितेका अर्बपति विनोद चौधरीविरुद्ध उजुरी परेको छ। चौधरीविरुद्ध कांग्रेसको चौधौँ महाधिवेशनका क्रममा मधेसी कोटामा प्रतिस्पर्धा गरेका नेता डा. सुभाषचन्द्र यादवले उजुरी दिएका हुन्।

सिरहा नगरपालिका-१५ घर भएका चौधरी कांग्रेसको १४ औं महाधिवेशनमा मधेसी केन्द्रीय सदस्य खुल्लातर्फ छैटौँ स्थानमा रहेका थिए। उनले मधेसी खुल्लाबाट केन्द्रीय सदस्यमा विजयी भएका चौधरी कांग्रेसमा १० वर्ष क्रियाशील नभएको उजुरीमा जनाएका छन्। ‘मधेसी खुल्ला पदमा निर्वाचित भएका भनिएका विनोद चौधरी कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएका व्यक्ति हुन्’, उनले भनेका छन्, ‘उनी २०७४ सालमा मात्रै कांग्रेसमा प्रवेश गरेकोले उनले केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्ट छ।’ साहले चौधरी पार्टीको विधानविपरीत कांग्रेस केन्द्रीय सदस्य बनेको पनि जिकिर गरेका छन्।

साहले सबै कोणबाट चौधरी कांग्रेस केन्द्रीय सदस्य हुन अयोग्य भएकाले आफूलाई निर्वाचित भएको घोषणा गर्न पनि माग गरेका छन्। ‘यसपूर्व नेकपा एमालेमा सभासद रहेको रेकर्ड समेतबाट विपक्षी विनोद चौधरी कांग्रेसको केन्द्रीय सदस्य हुन अयोग्य रहेकोले मधेसी (खुल्ला) ५ पदको लागि अयोग्य घोषित गरी उनको स्थानमा छैटौँ वरीयताक्रममा रहेको निवेदकको नाम समावेश गरी त्यसको जानकारी विपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यालयलाई गराई पाऊँ’, साहले भनेका छन्।

‘कांग्रेसको विधानविपरीत निर्वाचित भनिएका विनोद चौधरीका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय निर्वाचन समितिमा  उजुरी गर्दा पनि कुनै सुनुवाइ भएन’, साहले भनेका छन्, ‘पार्टीमा सुनुवाइ नभएपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४, १५, १७, ५७ समेतको आधारमा प्रस्तुत उजुरी निर्वाचन आयोगमा पेश गरेको छु।’

उजुरीमा उनले नेपाली कांग्रेसका समानुपातिक सांसद चौधरीको निर्वाचन आयोगमा रहेको रेकर्डले पनि क्रियाशीलता १० वर्ष नपुग्ने तर्क गरेका छन्।

‘कांग्रेसको विधान, २०१७ परिच्छेद, ७ दफा २१(८) मा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको व्यक्तिमात्र केन्द्रीय सदस्यमा निर्वाचित हुन सक्ने व्यवस्था विपरीत विनोद चौधरी, समानुपातिक सांसद भएको त्यसको रेकर्ड यस आयोगमा समेत छ’, उनले भनेका छन्, ‘उनी १० वर्ष निरन्तर कांग्रेसको केन्द्रीय सदस्य नभएकोले क्रियाशील सदस्य हुन नसक्ने स्पष्ट हुन्छ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.