कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको नगर सभा अधिवेशन सम्पन्न भएको छ। गत शनिबार उद्घाटन गरिएको नगर सभा अधिवेशन आईतबार सम्पन्न भएको हो।
नगरपालिकाका प्रवक्ता हिमाल चन्दले सभामा २५ विधेयक पास भएको बताए। उनका अनुसार विधेयकसँगै सभाले अन्य महत्वपूर्ण निर्णय पनि गरेको छ। शनिबार सभामा २५ वटा विधेयक पेस भएका थिए। उक्त विधेयकमाथि अध्ययन गर्न सभा सदस्यलाई एक हप्ताको समय उपलब्ध गराइएको थियो। विधेयक अध्ययनपछि सभामा छलफल भएको र सदस्यबाट आएका सुझाव अनुसार आवश्यक संशोधनसहित विधेयक पारित गरिएको नगर प्रवक्ता चन्दको भनाई छ।
नगरसभा अधिवेशनबाट नगरपालिका कार्य सञ्चालन विधेयक, सार्वजनिक सुनवाई सम्बन्धी विधेयक, भीमदत्त प्रज्ञा प्रतिष्ठान विधेयक, वातावरण तथा प्राकृतिक श्रोत संरक्षण सम्बन्धी विधेयक, न्यायिक समिति सम्बन्धी कार्यविधि, नगर प्रहरी, नगर शिक्षा, बजार व्यवस्थापन, स्थानीय सेवा, सार्वजनिक निजि साझेदारी, एफएम रेडियो सञ्चालन, कृषी, विपद् जोखिम न्यूनीकरण विधेयक, वन विधेयक, स्थानीय स्वास्थ्य विधेयक, भवन निर्माण मापदण्ड लगायतका विधेयक पारित भएका हुन्।
नगरपालिकाले यसअघि नै २१ वटा ऐन, नौ निमावली, ५५ कार्यविधि र छ निर्देशिका निर्माण गररी लागु गरिसकेको छ। सभामा चाुल आर्थिक वर्षको प्रगति समिक्षा समेत पेश गरिएको थियो। भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो। नगर प्रमुख विष्टले विषयगत विधेयक, प्रगति समिक्षा लगायत अन्य विषयमा छलफलसहित आवश्यक निर्णय गरिएको बताए।
सुदूरपश्चिम प्रदेशमै भीमदत्त नगरपालिकाले स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकालको अन्तिम नगर सभा सम्पन्न गरेको हो।