३ दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीशलाई बारको अल्टिमेटम
काठमाण्डाैं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन तीन दिने अल्टिमेटम दिएको छ । बुधबार सर्वोच्च अदालत परिसरमा भएको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएका हुन् ।
‘३ मंसिरसम्म जबराको राजीनामा आएन भने थप आन्दोलन गर्छाैँ । यो शुक्रबारसम्म हामीले तपाईंलाई राजीनामा गर्ने मौका दिएका छौँ । राजीनामा दिनुभएन भने हामी देशभरका उच्च अदालतमा विरोध सभा गर्छौँ,’ उनले भने ।
अध्यक्ष श्रेष्ठले जबराका कारण न्याय किनबेच नहोस् भन्ने सबैको शिर झुकेको बताए । उनले प्रधानन्यायाधीश जबराले गरेका सबै फैसला बारले अध्ययन गर्ने पनि बताए । साथै अध्यक्ष श्रेष्ठले जबराको सम्पत्ति विवरण पनि खोज्ने बताए ।