अनसन बस्न काँग्रेस डडेलधुराका नेता कार्यकर्ता काठमाडौं हिँडे
अमरगढी । नेपाली कांग्रेस डडेलधुराका नेता कार्यकर्ता अनसन बस्नका लागि काठमाडौं हिँडेका छन् । एकतर्फी गरिएको अधिवेशन बदरको माग राख्दै ६० जना भन्दा बढी नेता कार्यकर्ता अनसनका लागि गाडीमार्फत् काठमाडौं गएका हुन् ।
क्रियाशील सदस्यताको विवाद अन्त्य नहुँदै डडेलधुरामा वडा र पालिका अधिवेशन गरिएको थियो। उक्त अधिवेशनलाई जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले बहिष्कार गरेको थियो। वडा र पालिका अधिवेशन बदर गरेर पुनः गर्न माग गरिएको छ। काठमाडौंका लागि छुट्नुअघि महासमिति सदस्य हरि भट्टले भने, ‘शेरबहादुर देउवालाई शाही आयोगले थुन्दा उहाँको न्यायका लागि २०६१ सालमा यसैगरी काठमाडौं गएका थियौं, अहिले देउवाबाट नै हामीलाई न्याय माग्न काठमाडौं जाँदैछौं।’
निर्वाचन समितिले उक्त अधिवेशनलाई मान्यता दिएको छ। मल्ल पक्षधर जिल्ला पार्टी कार्यालयमा दश दिन रिले अनसन बसेका थिए। संस्थापनइतरका नेताहरु डडेलधुरा पुगेर अनसन रोक्न आग्रह गरेका थिए। माग सुनुवाइ नभएपछि केन्द्रीय कार्यालयमा नै रिले अनसन बस्ने गरी काठमाडौं प्रस्थान गरेको भट्टले बताए।
षडयन्त्र गरी अन्य संरचनाको अधिवेशन भए अमान्य हुने उनले बताए। डडेलधुराको सन्दर्भमा नयाँ अधिवेशन हुनुपर्ने असन्तुष्ट पक्षको माग छ।