आजदेखि सुपथ मुल्य पसल सञ्चालनमा, सुदूरपश्चिमका ६ स्थानमा खुले
धनगढी । सरकारले चाडपर्वको अवसरमा उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ मूल्य पसल संचालन ल्याएकाे छ । यहीक्रममा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुदूरपश्चिम प्रदेशका ४ जिल्लाका ६ स्थानमा सुपथ मुल्य पसल संचालनमा ल्याउन लागेको हो ।
दशै तिहार लगायतका चाडपर्वलाई लक्षित गरी आजदेखि कैलालीको धनगढी, टिकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी, डडेल्धुरा र डोटीको दिपायमा सुपथ मुल्य पसल संचालनमा ल्याउन लागिएको साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीले जनाएको छ । चाडपर्वमा बजारमा महँगी बढ्दै जाँदा सुपथ मूल्य पसलबाट सस्तो मूल्यमा उपभोग्य वस्तु विक्री गर्न विगतका बर्षहरु जस्तै यस बर्ष पनि सुपथ मुल्य पसल संचालनमा ल्याएकाे नायव कार्यकारी अधिकृत कुमार राज भण्डारीले बताए ।
उनले आज देखि कार्तिक २४ गते सम्म सञ्चालन हुने सुपथ मुल्य पसलमा नुन प्रतिकेजी १८ रुपैयाँ र चिनी प्रतिकेजी ७९ रुपैयाँका दरले बिक्री गरिने बताए। सुपथ मुल्य पसलबाट ग्राहकले एक पटकमा ६ किलोग्राम नुन र २ किलोग्राम चिनि किन्न पाउने छन ।