उर्लंदो महाकाली वारपार गर्न तुइनकै भर
धनगढी । दार्चुलाकाे व्याँसका बासिन्दा अहिले पनि उर्लंदो महाकाली वारपार गर्न तुइनमा ताङ्लोकै भर पर्नुपरेको छ।वर्षौँदेखि महाकाली नदीमा झोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा व्याँसीवासीले नदी वारपार गर्न तुइनकै भर पर्नुपरेको हो।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापन गर्ने निर्णय गरेका थिए । घोषणाअनुसार २०७४ असोजभित्रै तुइन विस्थापन हुनुपर्नेमा दार्चुलाको महाकाली नदीमाथि लगाइएका आधा दर्जन तुइन अहिले पनि सञ्चालनमा छन्। बर्खाको उर्लंदो महाकालीमा स्थानीयवासीले ज्यानकै बाजी थापेर आवतजावत गर्नुपरेको छ।
यहाँका बासिन्दालाई किनमेल तथा गाउँमा उत्पादित कृषि उपज बिक्रीवितरण मात्रै होइन, औषधि उपचारका लागि अस्पताल जानसमेत तुइनको मात्रै भर छ। पुल नबन्दा सबैभन्दा बढी सकस स्कुले बालबालिका र ज्येष्ठ नागरिकलाई परेको छ। बालबालिका र ज्येष्ठ नागरिकले तुइन तान्न नसक्ने हुँदा उनीहरूलाई तार्न सहयोगी आउनैपर्ने बाध्यता छ।
“तुइनको डोरीलाई तान्ने बल सबैलाई नपुगेर र आत्तिँदा धेरै जना लड्ने गरेका छन्”, व्याँस गाउँपालिका–२ का मुकेश बुढाथोकीले भने, “तुइन बन्छ भनेर सुनेको वर्षौं भएको छ यहाँका नागरिकले । तर पुल बन्ने सपना जस्तै लाग्न थालेको छ, दार्चुलाका व्याँसवासीलाई।”