छाङरुमा नेपाली सीमाको पहरेदारी गरिरहेका आमाहरु

दार्चुला । छाङरुकी सरु बोहरा सात दशक टेक्दैछिन् । सन्तान हुर्काइसकेकी उनी आराम गरेर बस्नुपर्ने बेला एकतमासले सुइरो चलाउँदै स्वीटर बुनिरहेकी छन् । जेठा छोरा नरेशसिंह बोहरा काठमाडौंमा छन् । जो लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । दुई छोरा सपरिवार अमेरिकामा छन् । सरु भने पतिसँगै छाङरुमै बस्छिन् ।

७७ वर्षीया राधा बोहरा पनि पतिसँगै छाङरुमा छिन् । छोरा हेमेन्द्रसिंह बोहरा काठमाडौंमा छन् । छाङरुमा जन्मिएका हेमेन्द्रले संसारकै प्रतिष्ठित हार्वर्ड युनिभर्सिटीमा छात्रवृत्ति पाए । संसारसँग प्रतिस्पर्धा गर्न सक्ने छोरा यही छाङरुका आमाले जन्माएका छन् । पति व्यापारका लागि ताक्लाकोट–दिल्ली व्यस्त रहँदा उनीहरू छाङरुमै थिए । सन्तानहरू हुर्किएर काठमाडौं हुँदै सात समुद्र पार पुगिसके । ६ महिना हिउँले ढाकिने छाङरुमा उवा, फापर र आलुबाहेक केही फल्दैन । ‘सन्तानले डाँडाकाँडा ढाकुन्’ यो आशीर्वाद फलेको छ ।

भाष्करसिंह लाला काठमाडौंमा कहलिएका चार्टर्ड एकाउन्टेन्ट हुन् । आमा कुन्ती लाला छाङरुमै बस्छिन् । छोराहरूलाई योग्यतम् बनाएर ठाउँ–ठाउँमा पुर्‍याएका कुन्तीजस्ता आमाहरूले दार्चुलाको सीमान्त बस्ती छाडेका छैनन् । नेपाल सरकारलाई तिरो तिरेको प्रमाण भए पनि गुन्जी, कुटी, नाभीका बासिन्दाको साइनो नेपाली प्रशासनसँग टुटिसकेको छ ।

कालापानीदेखि लिम्पियाधुरासम्म ३९५ वर्ग किलोमिटर भूभाग भारतले अतिक्रमण गर्दा छाङरु भने सुरक्षित छ । अहिले छाङरुमा सशस्त्र प्रहरीको शिविर पुगेको छ । तर वर्षौंसम्म यो गाउँ यिनै आमाहरूको जिम्मा थियो । ७७ वर्षीय एक आमा भन्दै थिइन्, ‘गुन्जी, नाभी, कुटी पहिले त नेपालकै हो तर पछि कांग्रेस (भारत) ले लग्यो ।’

छाङरुमा जन्मिएका गोपालसिंह बोहरा नेपाली सेनाका ‘ब्रिगेडियर जनरल’ भए । अवकाशपछि संविधानसभा सदस्य पनि भए । सेना समायोजन समितिको सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरे । ‘गुन्जी, नाभी, कुटी, कालापानी हामीले गुमायौं,’ सुदूरपश्चिम प्रदेशसभा सदस्य ग्याल्बु बोहरा भन्छन्, ‘श्रीमान्हरू व्यापारमा हिँडे, छोराहरू सहर पसे, आमाहरूले बस्ती छाडेनन्, त्यसैले अहिले प्रहरी आएर बस्ने ठाउँ जोगिएको छ ।’

नेपाली नेता हल्ला मात्र गर्छन् । कालापानी मिचियो भनेर विरोध गर्छन् । एक आमा भन्छिन्, ‘नेताहरू हेलिकप्टरमा आउँछन् । जान्छन् । पैदल आएको भए थाहा पाउँथे हाम्रा दुःख ।’ सडक, सञ्चार र सरकारसँग जोडिन नपाए पनि छाङरुको देशसँगको साइनो भने अमिट छ । सन्तानलाई अमेरिका, युरोप र अस्ट्रेलियाको बाटो देखाउने आमाहरू आफैं भने जिल्ला सदरमुकामसँग जोडिने बाटो हेरेर बसेका छन्  । कान्तिपुरबाट साभार

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.