‘हारे पनि जिते पनि पच्कायाे शेरेले’

२०७४ को निर्वाचनअघि गोरखा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले एक चुनावी सभामा सम्बोधनकै क्रममा ठोकुवा गरेका थिए- नेपाली कांग्रेसका अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा हुन्। मंसिरमा दुई चरण गरी निर्वाचन हुँदै थियो। कात्तिक अन्तिममा ओलीले पुस उता नेपाली कांग्रेसको नेतृत्वमा यो देशमा सरकार नबन्ने दाबी गरेका थिए।

‘म ज्योतिषी हो र शेरबहादुर सात पटक हुन्छन् भन्न। दक्षिणा चाहियो मलाई। मैले दक्षिणा खोज्या हो र? मैले त राजनीति भनेको नेपाली कांग्रेसले थाहा पाए हुन्छ ज्योतिषी बनाउने कुरा घरैमा बनाओस्। जनताले नेपाली कांग्रेसलाई बनाउनेवाला छैनन्,’ ओलीले कात्तिक २९ गते गोरखामा दाबी गरेका थिए,’अब पुस उता नेपाली कांग्रेसको नेतृत्वमा सरकार हुँदैन यस देशमा, सबैले थाहा पाए हुन्छ। अलिक सुनिएन भने माइकको छेउमा मुख लगेर भन्छु म। पुसदेखि उप्रान्त अब यस देशमा नेपाली कांग्रेसको नेतृत्वको सरकार हुँदैन। वामपन्थी सरकार बन्यो बन्यो।’

त्यतिबेला प्रधानमन्त्रीकै कुर्सीमा थिए देउवा। उनी पाँचौँ पटक प्रधानमन्त्री बन्नका लागि देशभर चुनावी प्रचारमा निस्किएका थिए। कात्तिक ३० गते धनगढी पुगेका देउवालाई पत्रकारहरुले ओलीको भनाइलाई रेफरेन्स लिँदै प्रश्न गरेपछि सुरुमा त झोक्किए। तर त्यहीँ बोल्दै जाँदा सात पटक प्रधानमन्त्री हुने सन्दर्भ जोड्दा भने ह्याप्पी लुक्समा देखिए। ‘म अन्तिम प्रधानमन्त्री त भन्छु मैले। ज्योतिषीले भन्या भएर ७ पटक बन्नुहुन्छ भन्या छ मलाई अहिले,’ यति भन्दै गर्दा देउवा तनक्क तन्किँदा बिछट्टै हँसिला देखिए। देउवाको हाँसोमा पत्रकारको पनि साथ रह्यो।

देउवाको उक्त दाबीले तात्तातो चर्चा पायो। कतिले निर्वाचनपछि उनी नै प्रधानमन्त्री बन्ने लख काटे पनि। तर, राजनीतिक कोर्स उनले भनेजति सजिलो किन थियो र? नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गजबको तालमेल भयो र उनीहरु निर्वाचनमा गए। र, चिर्वाचन परिणाममा कायापलट भयो। नराम्ररी हार्‍यो कांग्रेस, देउवा भने बालबाल बचे। ओलीले भनेझैं वामपन्थी सरकार बन्यो देशमा।

ज्योतिषीको खोजी, भेटिएनन् उनी !

पाँचौ पटक प्रधानमन्त्री बन्ने देउवाको आकांक्षा धुमिल बन्यो। चुनावी हारको जिम्मेवारी एक्लै नलिने बताएपछि उनीमाथि कांग्रेसी नेताहरु नै खनिन थाले। उनी प्रधानमन्त्री नबन्ने निश्चित भएपछि बजारमा चर्चा चल्यो -देउवाको के दोष? यो त ज्योतिषीको पो दोष। कस्ता ज्योतिषी रहेछन् सात पटक प्रधानमन्त्री बन्छन् भन्दिने? यस्तै प्रश्नका बीच खोजी भयो भविष्यवाणी गर्ने ज्योतिषीको।

त्यतिबेला देउवालाई सात पटक प्रधानमन्त्री भन्ने ज्योतिषीको चालचुल केही देखिएन पनि। किनभने वामपन्थी गठबन्धनले झन्डै दुई तिहाइ नजिक सिट जित्दा कांग्रेसले समानुपातिकसहित २७५ मा जम्मा ६३ सिट हात पार्‍यो। योसँगै देउवा संसदमा प्रमुख प्रतिपक्षको रहने निश्चित भयो। सरकार सञ्चालनका क्रममा तत्कालीन नेकपाको जगजगी समक्ष कांग्रेसको केही जोर चलेन। उपसभामुखसमेत नपाएर कांग्रेस निरीह प्रतिपक्ष बन्न पुग्यो। पाँच वर्षका लागि नेकपाले सरकार रिजर्भ गरेपछि विज्ञप्तिमा कांग्रेस सीमित भएको थियो। कांग्रेसले यस्तो अवस्थामा सरकारलाई रचनात्मक सहयोग गर्ने जनाएको थियो।

तर परिस्थिति सधैं त्यस्तो रहेन। चुनावी प्रचारकै क्रममा कांग्रेस नेताहरुले नेकपा फुट्ने दाबी गरेका थिए। त्यस्तै भयो र ओलीका हितैषी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल सडकमा ओर्लिए। असंवैधानिक कदम चालेका ओलीले त्यसपछि एकमाथि अर्को असंवैधानिक र मनलाग्दी काम गर्न थाले। प्रतिनिधि सभा दुई पटक विघटन गरेपछि कानुनी र राजनीतिक माहोल ओलीविरुद्ध बन्यो। फलस्वरुप सोमवार सर्वोच्च अदालले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन भनेर परमादेश नै जारी गर्‍यो। यो सँगै ओली पदच्युत भए।

निर्वाचनमा नराम्ररी हारेको दल कांग्रेसलाई पुनः साढे तीन वर्षमा नै सत्ताको बागडोर सम्हाल्ने मौका मिल्यो। कांग्रेसले गण्डकी प्रदेशबाट सुरु गरेको सत्तारोहणको कमब्याकलाई निरन्तरता दियो। प्रतीक्षा विश्वासको मतको छ।करिब दुई तिहाइ मत पाएको वामपन्थी दलबीच किचलो हुँदा देउवाको पाँचौँ इनिङ तय भएको हो। देउवा प्रधानमन्त्री बनेपछि ज्योतिषीको खोजी पुनः सुरु भयो। सञ्चारमाध्यममा छाए देउवालाई सात पटक प्रधानमन्त्री बन्छन् भन्ने ज्योतिषी सुरेशचन्द्र रिजाल।

पाँचौँ पटक शपथ, बन्लान् सात पटक ?

२००३ सालमा डडेलधुरामा जन्मिएका देउवा अब पाँचौँ प्रधानमन्त्री बनेका छन्। मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले देशकाे ४३ओै प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन्। विद्यार्थी कालदेखि कांग्रेसको राजनीतिमा सक्रिय उनी नेपाल विद्यार्थी संघको दोस्रो महाधिवेशनबाट अध्यक्ष बनेका थिए।२०४६ सालमा प्रजातन्त्र आएपछिका तीनवटै संसदीय निर्वाचन र दोस्रो जनआन्दोलनपछिका दुईवटै संविधानसभा चुनावमा नेता देउवा लगातार डडेलधुराबाट निर्वाचित हुँदै आएका छन्।

४५ वर्षमा गृहमन्त्री बनेका देउवा २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। कुनै बेला संसद् विघटन गरेर विवादमा तानिएका देउवालाई ओलीले गरेको संसद् विघटन भने फापेको छ। सम्भावित चुनावी सरकारका प्रमुखका रुपमा समेत उनलाई हेरिएको छ। १४औँ महाधिवेशनमा पनि उनले सभापतिमा दाबी गरिरहेका छन्। यस्तो अवस्थामा देउवाले आफूलाई परिस्कृत गर्दै लगेमा पुन प्रधानमन्त्री निश्चित हुने कांग्रेसकै नेताहरु दाबी गर्छन्।

यस्तो अवस्थामा ज्योतिषीको भविष्यवाणी मेल खाने देउवा निकट नेताहरु नै दाबी गर्छन्।यद्यपि परिस्थिति कस्तो बन्छ? उनीहरुको दाबी र ज्योतिषीको भविष्यवाणी पुरा होला या नहोला? त्यो भने समयले पुष्टि गर्ला।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.