काम गर्न दिल्ली जान लागेका चार युवतीको कञ्चनपुरवाट उद्धार
कञ्चनपुर । भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ । शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरेको हो ।
उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ । पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले भारतीय राजधानी दिल्लीमा काम गर्ने भन्दै जान लागेको अवस्थामा फेला पारी उद्धार गरिएको बताइन् ।
अवैधरूपमा भारत जान लागेका युवती मानव बेचबिखनको उच्च जोखिममा पर्ने भएकाले उद्धार गरिएको उनको भनाइ छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई बुझाइएका युवतीलाई घर परिवारको जिम्मा लगाइएको छ । रासस