कक्षा १२ काे परीक्षा भाैतिकउपस्थितिमै लिने, पुर्णाङ्क १०० नै रहने
काठमाडौँ । २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा हुने भएको छ । सरकारले परीक्षाको विषयमा निर्णय गरी नसकेको भएता पनि बोर्डले भने १०० पूर्णाङ्कको लिखित परीक्षा गर्ने गरी तयारी थालेको छ ।
माध्यमिक तहको अन्तिम परीक्षा भएकाले ढिला भएपनि लिखित रुपमै लिनुपर्छ भन्ने विज्ञहरुको सुझाब अनुसारको तयारी भइरहेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । परीक्षा १०० पूर्णाङ्ककै हुने र पछिल्लो समय कोरोना महामारीको संक्रमण न्यून बन्दै गएकाले पनि लिखित रुपमै परीक्षा सञ्चालन गर्ने तयारीमा बोर्ड रहेको छ ।स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरेर भएपनि परीक्षा लिखित रुपमै लिने तयारी भइरहेको पौडेलले जानकारी दिए ।
गत वर्ष बोर्डले कक्षा १२ को वार्षिक परीक्षा ४० पूर्णाङ्कको लिखित थप ४० पूर्णाङ्क कक्षा ११ को वार्षिक परीक्षा र २० प्रतिशत पूर्णाङ्क कक्षा १२ को आन्तरिक मूल्यांकनबाट वार्षिक परीक्षा गरिएको थियो । यसपटक पनि कोरोना महामारीका कारण बोर्डले तोकेको समयमै परीक्षा हुन सकेन । बोर्डले यसअघि जेठ २६ गतबाट कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । तर उक्त समयमा कोरोना महामारीले तिव्र गति लिएपछि बोर्डले परीक्षा स्थगित गरेको थियो ।
कक्षा १२ को वार्षिक परीक्षा ढिला गर्दा विश्वविद्यालय तहको भर्ना प्रक्रियामा समेत असर पर्ने भएकाले जतिसक्दो चाँडो परीक्षा सक्न बोर्डलाई दबाव पनि रहेको छ । अघिल्लो वर्ष १२ कक्षाको परीक्षा ढिला हुँदा विश्वविद्यालयको भर्ना प्रक्रियामा असर पुग्नुका साथै वार्षिक क्यालेन्डरमा समेत असर पुगेको थियो ।