भ्याकेटले एमाले एकता बल्झियाे, एकताका मुख्य बाधक ओली
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली एकतामा बाधक देखिएका हुन्।
सर्वोच्च अदालतले फागुन २८ पछि बनाइएको एमाले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएर कर्णालीका चार सांसदलाई पुनर्बहालीको आदेश दिएको थियो। यसबाट एमाले एक हुने सम्भावना बढेको भन्दै ओली तथा माधव नेपाल समूहका नेताले आन्तरिक विवाद मिलाउन प्रयास गरिरहेका थिए। तर ओली पक्ष अदालतको आदेशविरुद्ध भ्याकेट हाल्न पुगेको छ।
ओली पक्ष अदालतमा भ्याकेटको निवेदन लिएर गएपछि नेता नेपालले आपत्ति जनाएका छन्। कर्णाली प्रदेशका सांसदमाथि विधानविपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि भ्याकेटमा जाने निर्णय गरेर पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिने टिप्पणी नेपालले गरेका छन्।
भ्याकेट निवेदन दिएपछि ओलीलाई भेटेर नेपाल पक्षका नेताले असन्तुष्टि जनाएका छन्। आइतबार राति नेपाल समूहका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्यले बालुवाटारमा ओलीलाई भेटेर पार्टी एकता नभए नेपालमा कम्युनिस्टको भविष्य अन्योलमा पर्ने र त्यसको सबै दोष ओलीलाई लाग्ने भन्दै चेतावनी दिएका छन्।‘विवाद मिलाउने भन्ने, छलफल पनि गर्ने, अलमल्याउने अनि भ्याकेटमा पनि जाने, यसले राम्रो गरेन’, भेटमा उनीहरूले भने। संसद् विघटनपछि नै अहिलको समस्या आएको पनि उनीहरूले बताए। यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।
‘संसद् विघटन नगरेको भए अदालतमा रिट जाँदैनथ्यो। रिट नगएको भए हस्ताक्षरको कुरा आउँदैनथ्यो। त्यसकारण यसमा दुवै पक्षले गल्ती महसुस गर्नुपर्छ तर सबैभन्दा पहिला अध्यक्ष भएका कारण तपाईं (ओली) ले पार्टी मिलाउने काम गर्नुपथ्र्यो। भ्याकेटमा गएर तपाईंले पार्टीलाई विभाजनतर्फ धकेल्नुभयो’, नेपाल पक्षका नेताले ओलीसँग भने। उनीहरूले अहिले जुन शक्तिले बोकेको छ त्यो शक्ति स्थायी होइन भन्दै एमाले एकता नै सबैभन्दा बलियो शक्ति भएको बताएका थिए।