कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुँदै
धनगढी । राष्ट्रिय परीक्षा बोर्डले आज सोमवार कक्षा १२ को परिक्षाफल सार्वजनिक गर्ने भएको छ । त्यसका लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले केही समस्या नदेखिए सोमबार नतिजा सार्वजनिक हुने बताए ।
आइतबार नतिजाको प्रक्रिया हेरेका छौँ, अहिलेसम्म ठीक छ, केही समस्या नदेखिए सोमबार नतिजा सार्वजनिक हुन्छ,’ उनले भने । आइतबार बसेको बोर्ड बैठकले नतिजाको ‘डमी’ हेरेको छ । बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकन गरिएको छ । परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थीले सहभागी हुन आवेदन दिएका थिए ।
बोर्डले गत पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको थियो । तर, परीक्षा भद्रगोल भएकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । होम सेन्टरमा परीक्षा चलेको र उत्तरपुस्तिकासमेत विद्यालयमै परीक्षण भएर बोर्डमा आएका थिए । ती व्यवस्थित नहुँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक हुन सकेको थिएन ।