सुदूरपश्चिममा ७ हजार बढीले लगाए कोरोना विरुद्धको खोप
धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप अभियानको पाँचौँ दिन झण्डै १७ सय जना स्वास्थ्यकर्मीले खोप लगाएका छन्। प्रदेशका १० वटा खोप केन्द्र मार्फत आज १ हजार ६ सय ८८ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए।
कार्कीका अनुसार आज सेती प्रादेशिक अस्पताल खोप केन्द्र मार्फत २ सय ४६ र टीकापुर अस्पतालबाट ८० जनाले खोप लगाएका छन्।यस्तै, बैतडीमा २ सय ३७, बझाङमा १ सय ६०, बाजुरामा ७७, डडेल्धुरामा १ सय ८०, दार्चुलामा ९४ जना, डोटीमा २ सय ३४ जना र कञ्चनपुरका १ सय ४१ जना स्वास्थ्यकर्मीलाई खोप लगाएको कार्कीले बताए।
यो सँगै सुदूरपश्चिममा कोरोना भाइरस विरुद्ध पहिलो चरणको खोप लगाउने स्वास्थ्यकर्मीको संख्या ७ हजार ६३ पुगेको छ। यसैबीच, आइतबार सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको परीक्षण भएको छैन। प्रदेशका ६ ओटै अस्पतालका प्रयोगशालाबाट आज कोरोना परीक्षण नभएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी नरेन्द्र कार्कीले बताए।
सुदूरपश्चिममा हालसम्मख कोरोना संक्रमितको संख्या १४ हजार ३ सय १६ पुगेको छ। संक्रमण पुष्टि भएका १२ हजार ७ सय ८ जनाले कोरोना जितेका छन् भने ७६ जनाको मृत्यु भएको छ।