Dashain Suvakamana

सुदूरपश्चिम सरकार पारित बजेटकै आधारमा अघि बढ्ने तयारीमा

Ajai

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तत्काल पूरक बजेटभन्दा पनि चालु बजेटलाई नै कार्यान्वयनमा अघि बढाउने अवस्थामा रहेको देखिन्छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु खर्चतर्फको बजेट कार्यान्वयन भए पनि पुँजीगत खर्चतर्फ अपेक्षित प्रगति हुन नसकेको भन्दै नीतिगत तथा प्रक्रियागत विषय मिलाएर विकास बजेट कार्यान्वयन गर्नुपर्ने बताएका हुन्।

पुँजीगत बजेट कार्यान्वयनका लागि केही विषय मिलाउनुपर्ने र त्यसका लागि राजनीतिक नेतृत्व तहमा छलफल आवश्यक रहेको उनको भनाइ छ। माथिल्लो तहका नेताहरूबाट पहल हुने अपेक्षा गरिए पनि तत्काल पूरक बजेटभन्दा पनि चालु बजेटलाई नै कार्यान्वयनमा अघि बढाउने अवस्था रहेको बताएका हुन् । पूरक बजेट ल्याउने प्रतिबद्धता जनाए पनि राजनीतिक दलहरूबिच सहमति जुट्न नसकेपछि सरकार अहिले पारित बजेटकै आधारमा अघि बढ्ने तयारीमा लागेको हो।

प्रदेश सरकारले बजेट अध्ययनका लागि संसदीय समिति गठन गर्ने र समितिको प्रतिवेदनका आधारमा पूरक बजेट ल्याउने तयारी गरेको थियो। समिति गठनमै राजनीतिक विवाद देखिएपछि पूरक बजेटको प्रक्रिया अघि बढ्न सकेको छैन। त्यसपछि सरकारले तत्काल कार्यान्वयन गर्न सकिने आयोजना अघि बढाउने र कार्यान्वयन हुन नसक्ने आयोजनाको बजेट रकमान्तर गर्ने विकल्पमा छलफल थालेको छ।

पूरक बजेटको प्रक्रिया रोकिएपछि आर्थिक मामिला मन्त्रालयले पनि बजेट खर्च बढाउने तयारी थालेको छ। मन्त्रालयले सबै विषयगत मन्त्रालयका सचिव तथा आर्थिक मामिला मन्त्रालयका अधिकारीहरूसँग अन्तरक्रिया गर्दै बजेट खर्चमा देखिएका समस्या समाधान र विकास बजेट कार्यान्वयनलाई गति दिने विषयमा छलफल अघि बढाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.