
काठमाडाैं । लगातार दुई वर्ष नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पराजित भएर च्याम्पियन बन्नबाट वञ्चित सुदूरपश्चिम रोयल्स तेस्रो प्रयासमा आज सुदूरपश्चिम लुम्बिनीसँग भिड्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे हुने फाइनलमा दुवै टोलीको लक्ष्य उपाधि जित्नु हुनेछ।
एनपीएलकाे सुरुदेखि नै फाइनलमा पराजित भएर च्याम्पियन बन्नबाट वञ्चित सुदूरपश्चिम रोयल्सको पीडाको मापन सायदै कसैले गर्न सक्ला । यद्यपि सुदूरपश्चिम रोयल्ससमक्ष आज हुने फाइनलमा उपाधि रक्षा अभियानमा रहेको लुम्बिनी लायन्सलाई हराए तेस्रो संस्करणको विजेता बनी सो पीडा भुलाउने अवसर छ । तेस्रो पटकमा भाग्यमानी बनेर च्याम्पियन भएमा सुदूरपश्चिमका लागि गत वर्ष लुम्बिनीसँग बेहोरेको हारको बदला पनि हुने छ ।
सुदूरपश्चिम रोयल्सका लागि च्याम्पियन बन्नु सहज भने हुने छैन । यी दुई टिमबिचको पछिल्ला तीन भिडन्त हेर्ने हो भने सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी लायन्स निकै भारी साबित भएको छ । हेड टु हेडमा लुम्बिनी लायन्सले तीन तथा सुदूरपश्चिमले दुई खेल जितेका छन् । पछिल्ला तीन खेलमा लुम्बिनी सुदूरपश्चिमविरुद्ध अपराजित छ । पछिल्ला तीन भिडन्तमा लुम्बिनीले सुदूरपश्चिमलाई एकपक्षीय खेलमा हराएको छ । त्यसैले दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्धको फाइनल कुन मानसिकतामा खेल्छ, त्यो शनिबार नै पत्ता लाग्ने छ ।
तर लुम्बिनी लायन्सलाई यस पटक उपाधि रक्षा अभियानबाट रोक्न सक्छ भने त्यो टिम सुदूरपश्चिम रोयल्स नै हो भन्दा पनि फरक पर्दैन । किनभने यी दुई टिम नै यस पटक यस प्रतियोगिताका सर्वश्रेष्ठ टिम हुन् । लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सविरुद्धको हारले मात्र सुदूरपश्चिमले यस पटक समूह चरणको शीर्ष स्थान बनाउन सकेन । पछिल्ला दुई संस्करणमा सुदूरपश्चिमले शीर्ष स्थानमा रहेर समूह चरण मात्र टुङ्ग्याएन क्वालिफायर वन जितेर सिधै फाइनल खेलेको थियो ।
यसपालि सुदूरपश्चिम रोयल्स १० अङ्कसहित दोस्रो स्थानमा रह्यो । त्यसैले त्रिविस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा फाइनल खेल्ने यी दुई टिमबिच यस पटकको उपाधि भिडन्त यात्रा खासै फरक देखिँदै छ ।
