महेश कुमार महरा (सुधिर)
चारैतिर बारुदको गन्ध थियो,
चील झै घुमी रहेकाथिए
आकाश भरि हेलीहरू
असिनाझै बर्सीरहेका थिए बम गाेलीका बर्षा
धर्ती कम्पयमान हुने आँखै अगाडिको त्यो भीषण लडाईं थियो।
टाउकोमा गोली लागेर आँँ गरे जस्तो नि कस्तो
आधा गिद्धि बाहिर आएजस्तो,डरलाग्दाे घाउ
खपि नसक्दो पीडामा छटपटाउँदै,
धरमपानीकाे त्यो चिसो माटोमा,
जब मेरा आँखाहरू जीवनको अन्तिम त्यान्द्रो समात्दै ओइलाउँदै थिए,
जब शरीरबाट बगेको रगतले धर्ती रातो बन्दै थियो,
ठीक त्यही बेला—मृत्यु र मेरो बीचमा तिमी उभियौ।
बम र गोलीका वर्षातहरूलाई बेवास्ता गर्दै,
आफ्नै मुटुको धड्कन दाउमा राखेर,
तिमीले मलाई मृत्युको त्यो अँध्यारो खाडलबाट बाहिर तान्यौ।
त्यो जताततै रगतै-रगत भएको विरक्त लाग्दो पलमा,
तिम्रो न्यानो काख मेरो लागि संसारकै सुरक्षित छहारी बन्यो।
आज वर्षौँ बितिसक्यो,
युद्धका ती घाउहरू त निको भए होलान्,
तर धरमपानीकाे त्यो ऐतिहासिक दिन र तिम्रो त्यो असीम प्रेम,
मेरो मानसपटलमा आज पनि ताजै छ।
म सास फेरिरहेको छु, किनभने मभित्र तिम्रो प्राण छ,
म बाँचिरहेको छु, किनभने त्यो दिन तिमीले मलाई बचाएकी थियौ।
मेरो ओठमा रहेको यो मुस्कान,
र मेरो मुटुमा रहेको प्रत्येक धड्कन,
सधैँ-सधैँ तिम्रै नाममा ऋणी रहनेछ,प्रिय !
देशकाे राज्यब्यवस्था र समाजकाे अग्रगामी रुपान्त्ररणकालागि जनयुद्धका ज्युँदा शहिद कवी महरा डडेल्धुराकाे आलितालका स्थानीय बासिन्दा हुन् । उनी सुदूरपश्चिमबाट राष्ट्रिय सभाका निवर्तमान सदस्य समेत हुन् ।