अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवनको दोस्रोपटक उद्घाटन गरिएको छ। एमालेबाट विजयी जनप्रतिनिधिहरू र कार्यकर्ताको बिरोधका बाबजुद नगर प्रमुख वीरेन्द्र भट्टले नगरपालिकाको नवनिर्मित भवनको बिहिवार उद्घाटन गरेका हुन् ।
यसअघि निर्माण सम्पन्न नहुँदै २०७८ चैत १४ गते एमालेबाट निर्वाचित तत्कालीन नगरप्रमुख हरिसिंह साउदले उद्घाटन गरेको उक्त प्रशासनिक भवनको कांग्रेसबाट निर्वाचित अहिलेका प्रमुख वीरेन्द्र भट्टले फेरि उद्घाटन गर्दा आज दिनभर तनाव सिर्जना भएको थियो। प्रशासनिक भवन पुनः उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै विरोधमा उत्रिएकाे नेकपा एमालेका कार्यकर्ता हातमा कालो रिबनसहित नारा जुलुसमा गरेका थिए।
क्षेत्रीय सहरी विकास आयोजनाले एसियाली विकास बैँक (एडिबी)को १३ करोड ४६ लाख बढीको सहुलियत ऋण लगानीमा भवन निर्माण गरेको थियो। पूर्व नगर प्रमुख साउँदको नाममा लेखिएको शिलालेख हटाएर नगर प्रमुख भट्टले आफ्नो नामको शिलालेख टाँसेका हुन्। भवन उद्घाटनमा विवाद भएपछि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।