धनगढी। कैलालीमा अत्यधिक चिसो भएपछि प्रदेश सरकारले आगो ताप्नका लागि सर्वसाधारणलाई दाउरा वितरण गर्न थालिएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निर्देशनमा डिभिजन वन कार्यालय धनगढीले दाउरा वितरण गर्न थालेको हो।
धनगढीमा आगो ताप्नका लागि वन कार्यालयले हिजो बिहीबारदेखि चोक चोकमा दाउरा वितरण गरेको छ। कैलालीमा पछिल्लो तीन दिनदेखि घाम लागेको छैन। शीतलहका कारण जनजीवन प्रभावित भएको छ।
जाडो बढेपछि जनजीवन कष्टकर बनेकाले आगो ताप्नका लागि दाउरा वितरण गर्ने मन्त्रालयले निर्णय गरेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीको निजी सचिवालयले जानकारी दिएको छ।
सोही निर्णय अनुसार मातहतका निकायबाट दाउरा वितरण हुन थालेको हो । चिसो बढेपछि सर्वसाधारणले जाडो छल्नका लागि सार्वजनिक स्थान, चौक, सडक छेउछाउ लगायतमा आगो बालेर तापिरहेको देख्न सकिन्छ।