मन्त्रीपरिषद् पुनर्गठनको तयारी, डोटीका आले मन्त्री बन्दै

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यशैली परिवर्तन गरेर नतिजामुखी काम गर्न मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारीमा रहनुभएको छ । प्रधानमन्त्रीले त्यसको सङ्केत सरकारको कार्यकालको एक वर्ष पुग्दा नै दिइसक्नुभएको छ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले मङ्गलबार मन्त्रीहरू हेरफेर गरेर भए पनि सरकारको कामको गतिलाई अझ तीव्रता दिनेबारे छलफल भइरहेको तर निष्कर्षमा नपुगेको जानकारी दिए। 

मन्त्रीहरू हेरफेरका लागि सत्ता साझेदार दलहरूको पनि सहमति चाहिने र राष्ट्रिय सभा सदस्यको निर्वाचन पनि आउन लागेकाले तत्काल परिवर्तनको सम्भावना भने कमै रहेको छ । तर पनि यस विषयमा गठबन्धनमा र पार्टीमा छलफल भएको छ । निष्कर्ष आइसकेको छैन। यसै क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउन उनको दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई आग्रह गरेका छन्।

‘भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला विवादमा पर्नुभयो, उहाँलाई सरकारबाट फिर्ता बोलाउँदा राम्रो होला,’ प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै नेपालनिकट स्रोतले भन्यो। मन्त्री ज्वाला शुक्रबार एकाएक विरोध प्रदर्शन भइरहेको क्षेत्रमा पुग्दा प्रदर्शनकारी आक्रोशित भई दुर्घटना हुन पुगेको थियो। मन्त्रीलाई जोगाउन सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली बर्साएका थिए।

मन्त्रीको यो कमजोरीलाई लिएर नेकपा एसभित्र पनि असन्तुष्टि बढेको छ। पार्टीले उनको ठाउँमा डोटीका प्रेम आलेलाई जिम्मेबारी दिनलागेको स्रोत बताउँछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.