काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका सन्दर्भमा नेपाली कांग्रेस र माओवादी केन्द्रबिच मंगलबार छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताबिच भएको छलफलमा कुनै निर्णय भने हुनसकेन।
छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए। यता माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए।
आगामी फागुन २० मा एमालेका (एक मनोनीत) सहित ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुने छ ।
माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ । निर्वाचनको मिति नजिकिएसँगै कांग्रेस र माओवादीबिच सिट बाँडफाँटबारे छलफल सुरु भएको हो । कांग्रेस नेता रमेश लेखकका अनुसार राष्ट्रियसभाको सिट बाँडफाँट चाँडै टुङ्ग्याउनुपर्नेमा कुरा भएको र सिट बाँडफाँटका लागि बुधवार गठबन्धनको बैठक बस्ने छ ।
कांग्रेस र माओवादी केन्द्रका नेताबिच भएको एमालेको रिक्त ९ सिटमा दुई दलबिच मात्र भागबन्डा गर्ने गरी छलफल भएको स्रोतले बतायो ।