धनगढी । सुदूरपश्चिम सरकारका कारण सुदूरपश्चिम प्रदेश सभाको काम सुस्त भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आरोप लगाएको छ। प्रदेश सभाको एक वर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सरकार प्रति खरो टिप्पणी गरे ।
गठबन्धनको सरकार बहुमतको धङधङीमा रहेको भन्दै कानुन निर्माणमा चासो नदिए को र निर्माण भएका कानुनहरूको कार्यान्वयनमा पनि मौन रहेको आरोप लगाए । उनले पुराना कानुन संशोधन गर्नु पर्ने अवस्थामा पनि सरकारले चासो नदिएको बताए । ‘जनताको अधिकार सुनिश्चित गर्न सकेको छैन । व्यक्तिलाई विधि भन्दा माथि राखेको छ । सरकार जनताका विषयमा मौन छ ’ रावलले भने ।
अहिले सरकार उल्टो बाटोमा हिँडिरहेको भन्दै उनले भ्रष्ट्राचार, बिचौलिया बढीको आरोप लगाए। सरुवाको नाममा सरकारले कर्मचारीहरूलाई त्रसित गराएको समेत उनको आरोप थियो । संसदीय समितिले अहिले सम्म पनि सभापति पाउन नसकेको भन्दै उनले सरकार गैर जिम्मेवार भएको बताए ।
सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षसँग रहने उल्लेख गर्दै उनले अहिले सुदूरपश्चिममा त्यसमा पनि राजनीति गरिरहेको बताए।