बचतकर्ताको झण्डै ३२ करोड ठगी गर्ने चार जना पक्राउ

धनगढी । कञ्चनपुरका तीन हजार ६७१ सहकारी बचतकर्ताको झण्डै ३२ करोड रुपैयाँ ठगी भएको छ। शिव शिखर सहकारी संस्थाले बचतकर्ताको ३१ करोड ९७ लाख तीन हजार ९५५ रुपैयाँ ठगी गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी नै दिएका थिए। ठगीको आरोपमा प्रहरीले शिव शिखर बहुउद्देश्यी सहकारीका चार सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले पक्राउ परेका सञ्चालकहरू गीता शर्मा, केदार शर्मा, पुष्कर मल्ल र अमिसराज भण्डारीमाथि अनुसन्धान गरेर कैलाली प्रहरीको जिम्मा लगाएको बताए। डाँगीका अनुसार कञ्चनपुरस्थित सहकारीको शाखा कार्यालय महेन्द्रनगर, त्रिभुवन बस्ती, बेलौरीका बचतकर्ताबाट आएको उजुरीमाथि अनुसन्धानका लागि उनीहरूलाई जिल्ला झिकाइएको थियो। उनीहरु विरुद्ध कैलालीका बचतकर्ताले पनि ठगी सम्वन्धि उजुरी दिएपछि नियन्त्रणमा लिएका चारै जनामाथि अनुसन्धान गरेर कैलाली प्रहरीको जिम्मा लगाएको उनले बताए।

कैलाली प्रहरीले पनि उनीहरुमाथि अनुसन्धान पुरा गरेर फाइल अगाडी बढाएको प्रवक्ता कुलदिप चन्दले बताए। अहिले उनीहरु जिल्ला कारागार कैलालीमा छन्। पक्राउ परेका सञ्चालक विरुद्ध अन्य क्षेत्रमा पनि उजुरी परेकाले कैलाली कारागारबाट अन्य क्षेत्रमा पठाउने तयारी भइरहेको जिल्ला कारागार कैलालीका जेलर पदम तिमिल्सिनाले बताए।

आरोपितलाई यसअघि नै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरिसकेको थियो। ती सञ्चालकविरुद्ध जिल्लामा समेत उजुरी परेकाले उनीहरूलाई झिकाएर कैलाली र कञ्चनपुर प्रहरीले अनुसन्धान गरेका थिए। कञ्चनपुर र कैलालीमा उक्त सहकारीले करोडौँ रकम हिनामिना गरेको उजुरी परेको छ। सहकारीको ठगी प्रकरण सार्वजनिक भएयता उक्त सहकारीका सबै शाखा कार्यालय बन्द छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.