धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सडककालागि थप तोडफोड गरेर जनतालाई आजीत बनाउने पक्षमा आफुहरु नरहेको बताएका छन्। धनगढी चौराहदेखि कैलाली पुलसम्मको सडकको बारेमा सामाजिक सञ्जालमा भिडियो राख्दै नगर प्रमुख हमालले यस्तो बताएका हुन् ।
भिडियोमा उनले चौराहदेखि कैलाली पुलसम्मको सडक संरचना २४ मिटरभित्र बनीरहेको बताएका छन् । बिगतमा संरचना २४ मिटरभित्र बनाउने भएको निर्णय अनुसार काम भइरहेको र हामीले नघटाएको बताएका हुन् । ‘चौराहदेखि कैलालीपुल सम्मको क्षेत्राधिकार कम भएको होइन, विगतको सरकारले २४ मिटरभित्र सडक संरचना निर्माण गर्ने निर्णय अनुसार काम भइरहेको छ’ उनले भने– ‘कैलालीपुलदेखि क्याम्पस रोडसम्म ३० मिटर हुन्छ तर, चौराहदेखि कैलालीपुल सम्मको २४ मिटर भित्र बन्दा सडकको चौडाई कम हुन्छ ।’
उनले अहिले उपमहानगरपालिका थप नयाँ संरचना तोडफोड गर्ने पक्षमा नभएको बताए । ‘अहिले ३० मिटर बन्ने सडक पनि बनेका छैनन् । २४ मिटरको सडक पनि बनेको छैन्’ उनले भने –‘हामी तोडफोड गरेर जनतालाई आजीत बनाउने पक्षमा छैन् ।’
नगर प्रमुख हमालले सरकारी तथा सार्वजनिक संस्थाले सडक क्षेत्राधिकारको पालना गर्नुपर्ने बताए । ‘सरकारी तथा सार्वजनिक संस्थामा सवारी पार्किङ्, हरियाली लगायतका कार्य गर्न सडक क्षेत्राधिकारको पालना गर्न लगाएका छौं’ उनले भने ।