मध्यराती धनगढी बजारमा आगलागी,अस्पतालसहित ८ पसलमा क्षति

धनगढी । धनगढी बजारमा भीषण आगलागीभएको छ। धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको हो। धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा राति करीब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।

विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टर लगायतका पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुल्दीप चन्दले जानकारी दिए। स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) देबेन्द्र पालले बताए।

एसपी पालका अनुसार धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोली समेत परिचालन गरिएको थियो।

आगलागीमा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर एन्ड सु–सेन्टर (जुत्ता चप्पलको होलसेल  गोदाम), टेकेन्द्र शर्माले सञ्चालन गरेको मधुमाला देवी सप (बेबी सपको गोदाम), वासुदेव भट्टले सञ्चालन गरेको भट्ट सपिङ सेन्टर (ब्याग हाउस), जगत् बहादुर बलायरले सञ्चालन गरेको सुशिक्षादेवी सपिङ् सेन्टर (कपडाको गोदाम), शोदा साउदले सञ्चालन गरेको न्यु सदिच्छा इन्टरप्राइजेजी (कपडा, जुत्ता, ब्यागको गोदाम), गौरी भण्डारीले सञ्चालन गरेको भण्डारी सु –सेन्टर (जुत्ता चप्पलको गोदाम), सारथि अस्पताल कैलाली, , जानकी भट्टले सञ्चालन गरेको भट्ट ट्रेडर्स एन्ड सप्लायर्स (ब्याग हाउस) गरी आठ ओटा पसलमा पूर्ण क्षति भएको चन्दले बताए।

क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.