माओवादी निकट कर्मचारीले दुई दिनको पारिश्रमिक भूकम्प पीडितलाई दिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका प्रत्येक सदस्यले आफ्नो दुई दिनको पारिश्रमिक भूकम्प पीडितलाई दिने भएका छन् । संगठनको केन्द्रीय कार्यालयमा सोमबार बसेको आकस्मिक बैठकले भूकम्प प्रभावित जनताको राहत तथा पर्नुस्थापनका लागि सदस्यको पारिश्रमिक सरकारी राहत कोषमा पठाउने निर्णय गरेको हो ।

बैठकपछि संगठनका अध्यक्ष अम्बादत्त भट्टले भने, ‘प्रत्येक सदस्यबाट कम्तिमा दुई दिनको पारिश्रमिक अनिवार्य रुपमा र शुभेच्छुकहरुबाट स्वेच्छिक रुपमा केन्द्रीय समिति, प्रदेश समिति, विभागीय, जिल्ला समितिले तोकेको खातामा जम्मा गरि केन्द्रीय समितिले महासंघमार्फत सरकारी राहत कोषमा दाखिला गर्ने निर्णय गरियो ।’

उनकाअनुसार बैठकले भूकम्प प्रभावित क्षेत्रमा देखिएको मानव स्वास्थ्य तथा पशु स्वास्थ्यको जीवन रक्षाको लागि स्वास्थ्य विभाग तथा कृषि विभागसँग समन्वय गरि स्वास्थ्य सामग्री तथा स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको छ ।यसैगरी बैठकले ‘प्राकृतिक विपत्ति राहत तथा पुनस्र्थापना कोष’ स्थापना गरी सम्पूर्ण संघ संस्था तथा आम नेपाली जनतासमेतको सहभागितामा एकद्वार प्रणालीबाट राहत वितरण गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

भूकम्पमा निधन भएका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकले राष्ट्रिय शोकको रुपमा शोक प्रस्ताव पारित गरेको छ । सात दिनसम्म संगठनका सार्वजनिक कार्यक्रम स्थगित गरि राहत संकलनको काम तीव्र रुपमा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष भट्टले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.