माओवादी अभियान एक महिना थपियो

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अभियान एक महिना थपिएको छ । आइतबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले तीनमहिने अभियान एक महिना लम्ब्याउने निर्णय गरेको हो ।

पार्टी सचिव लीलामणि पोखरेलले गत भदौ १६ गतेदेखि सुरु भएको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ प्रभावकारी हुँदै गएको र अरू अभियानका बाँकी काम पूरा नभएकाले अवधि थप्ने निर्णय भएको जानकारी दिए । ‘घर घरमा माओवादी जन जनमा माओवादी’ भन्ने नाराका साथ सुरु भएको अभियान आगामी मङ्सिर १५ गते सक्ने निर्णय भएको थियो । अब अभियान पुस १५ गते सकिने भएको छ ।

उनले पार्टीको तीनमाहिने अभियानले सङ्गठन विस्तारमा राम्रो काम भएको नेताहरूले समीक्षा गरेको बताए । “पार्टी अभियानमा सबै नेता कार्यकर्ता जोडिनुभएको छ । निष्क्रीय भएकाहरू सक्रिय भएका छन् । अभियानले पार्टीलाई गतिशील बनाएको छ,” पार्टी सचिव पोखरेलले भने, “नयाँ सदस्यता र पुराना पार्टी सदस्यको नवीकरण गर्न समय लाग्ने भएकाले अवधि थप गर्ने निर्णय भयो । दसैँतिहार र छठ जस्ता पर्वले थोरै असर गरेकामा यो एक महिनाले पूर्ति गर्ने छ ।”

अभियानले नै पार्टी कस्तो बन्ने निर्धारण गर्ने भएकाले सबै नेता कार्यकर्ता अभियानमा जोडिन आग्रह गरिएको भन्दै उनले पार्टी अभियान सकिएलगत्तै माघ वा फागुनमा विधान सम्मेलन गर्ने माओवादीले तयारी गरेको बतए।  

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.