धनगढी उपमहानगरका एकसय ९० वृद्धवृद्धा मुक्तिनाथ यात्रामा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले १ सय ९० जना जेष्ठ नागरिकलाई मुक्तिनाथ धामको यात्रामा पठाएको छ । यात्राका सहभागीलाई उपमहानगरपालिका कार्यालय प्रांगणबाट आइतबार दिउँसो पञ्चेबाजा बजाएर बिदाइ गरिएको छ । उपमहानगर प्रमुख गोपाल हमालले वृद्धवृद्धालाई लौरो दिँदै रामनामी ओढाएर बिदाइ गरे।

उपमहानगरका १९ वटै वडाबाट ९/९ जना वृद्धवृद्धा, चालु वर्ष अवकाश हुन लागेका नगरपालिका कर्मचारी, समाजमा योगदान पुर्‍याएका जेष्ठ नागरिकलाई मुक्तिनाथ धार्मिक यात्रामा सहभागी गराइएको छ । यात्रा अवधि करिब एक साताको हुने छ । यात्राको सहजीकरणका लागि लक्ष्मीनारायण मन्दिर समिति प्रतिनिधि र नगरपालिकाका स्वास्थ्यकर्मीको ५ जनाको टोली पनि सँगै छ । उनीहरुले यात्राका सहभागीको हेरविचार गर्नेछन् । यात्रामा वृद्धवृद्धाको समान संख्यामा सहभागिता छ ।

स्थानीय सरकारले तीर्थ गराइदिन लागेकोमा धार्मिक यात्राका तिर्थयात्रीहरु निक्कै खुसी देखिन्थे । उपमहानगर प्रमुख हमालले जेष्ठ नागरिकको खुसी र सम्मानका लागि धार्मिक यात्रा गराउने कार्यक्रमलाई निरन्तरता दिइएको बताए । ‘हामी निर्वाचित भएर आएको पहिलो वर्षको नीति तथा कार्यक्रममैं जेष्ठ नागरिक धार्मिक यात्रालाई राखेका थियौं‚’ उनले भने, ‘हरेक वर्ष उपमहानगरले जेष्ठ नागरिकलाई धार्मिक यात्रा गराउँछ ।’ 

गत वर्ष पनि उपमहानगरपालिकाले १ सय २२ जना जेष्ठ नागरिकलाई मुक्तिनाथको धार्मिक यात्रा गराएको थियो । उक्त यात्रामा करिब ८ लाख रुपैयाँ खर्च भएको र यो वर्ष १० लाखको अनुमानित खर्च हुने प्रमुखको सचिवालयका कर्मचारी कृपा उपाध्यायले बताए । बर्सेनि गराइने धार्मिक यात्रामा एकपटक गएकालाई नदोहोरिने गरी सहभागी गराउने गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.