धनगढी । सुदूरपश्चिम प्रदेश सभाअन्तर्गत गठित चार वटा विषयगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । सार्वजनिक कार्यतालिका अनुसार ११ गतेदेखि निर्वाचन प्रक्रिया शुरु भैइ १२ गते मतदान हुनेछ।
प्रदेश सभा सचिवालयका अनुसार चार वटा विषयगत समितिलाई पूर्णता दिलाउन सभामुख भीमबहादुर भण्डारीले आइतबार प्रदेश सभा सदस्यहरुसंग छलफल गरेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । सार्वजनिक कार्यतालिका अनुसार ११ गतेदेखि निर्वाचन प्रक्रिया शुरु गरिने छ । मतदाताको नामावली प्रकाशन, सभापतिका उम्मेदवारको उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता लगायतका काम पूरा गरिने छ । यस्तै गरेर असोज १२ गते शुक्रबार दिउँसो ११ बजे सभापतिको चुनाव गरिने छ।
प्रदेशको विषयगत समिति गठन भएको पाँच महिना बढी भैसक्दा पनि समितिले सभापति पाउन नसक्दा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठकहरु बसाउने गरेका छन् । जेठ ६ गते बसेको प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनको नवौं बैठकले विषयगत समिति गठन गरेको थियो ।
प्रदेशमा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति रहेका छन्।