बाढी र डुवानले कैलालीका ४६३ घरमा क्षति

धनगढी । गएरातको बर्षापछि कैलालीका नदी तथा खोलानालामा आएको बाढीका कारण चारसय ६३ घरमा क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारीअनुसार जिल्लाका विभिन्न क्षेत्रका चारसय ६३ घरमा बाढी र डुवानले क्षति गरेको हो ।

सबै भन्दा बढी कान्द्रा नदीले घोडाघोडी नगरपालिका वडा नम्बर ७ को सिराधानी शिविरमा एकसय ५० घरमा क्षति पुराएको प्रारम्भिक खबर आएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । उनका अनुसार कैलारी गाउँपालिका वडा नम्बर ७ को कटैनी नदीले ८५ घरमा क्षति गरेको छभने धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ कनरीमा खुटीया नदीले १५ घरमा क्षति गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार गोदावरी नगरपालिका वडा नम्बर १ को खैरना खोलाले चैतनपुरमा एक पसलमा क्षति गरेको छ । भजनी नगरपालिका वडा नम्बर २ को काडा नदीले मोहनपुरमा १५ घर, वडा नम्बर ३ को ढुसीमा ५ घरमा क्षति, जनकपुरमा एक घर, पुलियापुरमा १६ घर र कुटीमा ५० घरमा क्षति भएको छ । यस्तै, जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ३ फाँडिया र भितरिया गाउँमा कादा नदीको बाढीले ५६ घरमा क्षति भएको छ । कैलारी गाउँपालिकाको वडा नम्बर ७ का बसन्तामा ८५ घर, भुइयाँफाटामा २० घर, बडकी बसन्ताका ५० घरमा क्षति भएको छ ।

चुरेस्थित बुढीतोलामा पहिरोले भीमदत्त राजमार्ग भाँसिएर सुदूरपश्चिमका पहाडी जिल्लासँगको यातायात अबरुद्ध भएको भएपनि जिल्लामा अन्य सडक सञ्जाल सुचारु रहेको र मानविय क्षति नभएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.